काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले नयाँ चलचित्र ‘श्रीमान् श्रीमती’को छायांकन गुपचुप रूपमा अघि बढाइरहेका छन् । कुनै औपचारिक घोषणा नगरी सुरु गरिएको यो चलचित्र अहिले छायांकनको अन्तिम चरणमा पुगेको छ ।
काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको चलचित्रको काम अब करिब एक साताभित्र सकिने निर्देशक खनालले जानकारी दिएका छन् । निर्माण टिमले चलचित्रको छायांकनलाई सकेसम्म गोप्य राख्दै काम अघि बढाएको हो ।
पटकथा प्रोडक्सन र टुकी आर्ट्सको प्रस्तुतिमा बन्न लागेको ‘श्रीमान् श्रीमती’ पारिवारिक कथामा आधारित चलचित्र हो । चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छन् ।
गम्भीर तथा सामाजिक विषयलाई कथाको केन्द्रमा राखेर चलचित्र बनाउने निर्देशकका रूपमा परिचित खनालले भने यसपटक पूर्ण पारिवारिक कथामा काम गरेका छन् । उनका अनुसार चलचित्रमा दर्शकले आफूलाई जोड्न सक्ने मिठो कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
“दर्शकले मन पराउने मिठो कथामा सिनेमा बन्दैछ । आशा छ, दर्शकले मन पराउनु हुनेछ,” निर्देशक खनालले भने, “हामीले इमान्दार भएर सिनेमा बनाउने हो । पक्कै पनि इमान्दार बनेर बनाइएको सिनेमा दर्शकको रोजाइमा पर्छ ।”
निर्माण टिमले चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन । छायांकन सकिएपछि पोस्ट प्रोडक्सनको काम अघि बढ्नेछ ।
निर्देशक खनालको पछिल्लो रिलिज चलचित्र ‘हरिबहादुरको जुत्ता’ हो । यसबाहेक उनले ‘क्याप्टेन साब’को समेत छायांकन सम्पन्न गरिसकेका छन् । ‘क्याप्टेन साब’ भने प्रदर्शनमा आउन बाँकी छ ।


