यो सिनेमा १० दिनमा ६५ हजार ५ सय ६० दर्शकले हेरेका छन् । रिलिजको चार/पाँच दिन पछिबाट पिकअप लिएको सिनेमा अहिले उत्साहजक रुपमा चलिरहेको छ ।
वर्ड अफ माउथ राम्रो हुँदा दर्शकको चाप हरेक दिन बढ्दै गएको निर्देशक हरि लम्सालले बताएका छन् । “शो थपिनेक्रम बढ्दै गएको छ । चलचित्र राम्रो र हेर्ने पर्ने भन्ने दर्शकको प्रतिक्रिया आइरहेको छ,” उनले भने, “त्यसैले अबका दिनमा दर्शकले हाम्रो चलचित्रलाई थप साथ दिनुहुने हाम्रो विश्वास छ ।”
चलचित्रको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले पाउने उपेक्षा र दुःखसम्मका विषयलाई चलचित्रले कथाको केन्द्रमा राखेको छ ।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ ।

