काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विधान संशोधनमा अब तीनजना महामन्त्री रहने व्यवस्था गर्ने भएको छ। तीमध्ये एकजना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ।
सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधनमार्फत महामन्त्रीको संख्या तीन पुर्याउने निर्णय गरेको हो। तीनमध्ये कम्तीमा एकजना महिला महामन्त्री हुनुपर्ने व्यवस्था गरिएको छ।
केन्द्रीय समितिले गरेको निर्णयलाई पार्टीको बन्दसत्रमा प्रस्तुत गरिनेछ। बन्दसत्रबाट अनुमोदन भएपछि नयाँ व्यवस्था कार्यान्वयनमा आउनेछ।
यससँगै कांग्रेसको आगामी महाधिवेशनबाट तीन महामन्त्री निर्वाचित हुनेछन्। महामन्त्रीमध्ये एक पद महिलाका लागि सुनिश्चित हुने भएकाले पार्टीको केन्द्रीय नेतृत्वमा महिलाको प्रतिनिधित्व बढ्ने अपेक्षा गरिएको छ।


