काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सुक्ष्म कार्ययोजना तयार गर्ने भएको छ। विगतका वर्षमा महानगरपालिकाले स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट सञ्चालन हुने खोप कार्यक्रमको मात्र सुक्ष्म कार्ययोजना तयार गर्ने गरेको थियो।
जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रमका स्थानीय स्रोत व्यक्ति मैयाँ सैँजुका अनुसार यस वर्षदेखि भने महानगरपालिका आफैँले नियमित खोप कार्यक्रम तथा खोपबाट बचाउन सकिने रोग खोज्ने र समीक्षा गर्दै नयाँ खोप तथा रोगका बारेमा जानकारी, सरसफाइ प्रवर्द्धन तथा सुक्ष्म कार्ययोजना अद्यावधिक गर्ने छ।
कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ। कार्यक्रम मंगलबारदेखि महानगरपालिकाभित्र सञ्चालित खोप प्रदायक संस्थाका खोपकर्तालाई सहभागी गराएर कार्यक्रम सुरु गरिएको छ। नियमित खोप सेवाको पहुँच बढाउँदै खोपबाट छुटेका तथा पूर्ण खोप नपाएका बालबालिकाको पहिचान गर्ने सेवा सुनिश्चित गर्ने कार्यशालाको उद्देश्य हो।
कार्यशालाबाट स्वास्थ्य संस्थाबाट प्रदान गरिने खोपसम्बन्धी तथ्यांक, खोप कभरेज, ड्रपआउट, खोप खेर जाने दर सेवा पहुँचको अवस्थालाई विश्लेषण गरी वडादेखि महानगरस्तरीय योजना तयार पारिनेछ।
आर्थिक बर्ष २०८२/८३ को खोप तथ्यांकअनुसार महानगरपालिकामा अधिकांश खोपको कभरेज लक्षित जनसङ्ख्याको तुलनामा १०० प्रतिशतभन्दा माथि देखिएको छ। स्वास्थ्य कार्यालय काठमाडौँका जनस्वास्थ्य अधिकृत प्रविना कर्माचार्यका अनुसार महानगरपालिकामा बिसिजीको कभरेज ३१८.९६ प्रतिशत, डिपिटी–हेपबी–हिब पहिलो मात्रा १३२.७५ प्रतिशत र तेस्रो मात्रा १३३.०२ प्रतिशत देखिएको छ।
पोलियो पहिलो मात्रा १३३.०२ प्रतिशत, पिसिभी पहिलो मात्रा १३२.८८ प्रतिशत, एमआर पहिलो मात्रा ११४.२७ प्रतिशत एमआर दोस्रो मात्रा ११०.९४ प्रतिशत छ। यही तथ्याङ्कमा पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको अनुपात ७२.०८ प्रतिशत मात्र देखिएको छ। यसले लक्षित जनसंख्या निर्धारण, सेवाको उपयोग, अभिलेख तथा रिपोर्टिङ र वास्तविक रूपमा पूर्ण खोप पाएका बालबालिकाको अवस्थालाई थप सुक्ष्म रुपले विश्लेषण गर्नुपर्ने देखाएको छ।
कार्यक्रमको विश्लेषणमा कभरेजसँगै ड्रपआउट, खोप नपाएका बालबालिकाको सङ्ख्या, खोप खेर जाने दर, पहुँच र उपयोगलाई प्रमुख सूचकका रूपमा लिनुपर्ने स्रोत व्यक्ति सैँजुले बताउनुभयो। कार्यक्रमले कुन बालबालिका छुटे, किन छुटे, कुन क्षेत्रमा पहुँच कमजोर छ पहिलो मात्रा लिएपछि किन पछिल्ला मात्रा लिन आएनन् तथ्यमा आधारित उत्तर खोज्नुपर्नेमा जोड रहने छ।


