काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको न्युयोर्कका लागि प्रस्थान गर्दा विगतका प्रधानमन्त्रीहरूले अपनाउँदै आएको भीआईपी तामझाम र औपचारिक प्रोटोकल पूर्ण रूपमा तोडेका छन् । विमानस्थलको भीआईपी लाउन्जमा कुनै औपचारिक बिदाइ समारोह आयोजना गरिएन, गार्ड अफ अनर दिइएन र भीआईपी लाउन्जदेखि विमानसम्म रेड कार्पेट पनि बिछ्याइएन ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्री शाहलाई बिदाइ गर्न मन्त्रीहरूलाई समेत विमानस्थलमा बोलाइएको थिएन । कूटनीतिक नियोगका प्रमुखहरूको समूह (डिन अफ द डिप्लोम्याटिक कोप्र्स) तथा नेपालस्थित संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई पनि निमन्त्रणा गरिएको थिएन । प्रधानमन्त्रीको सवारी भीआईपी लाउन्जबाट सिधै विमान पार्किङ स्थलसम्म पुगेको थियो । अधिकारीहरूले स्पष्ट पारेका छन्, ‘औपचारिक कार्यक्रम, गार्ड अफ अनर र रेड कार्पेट भएको छैन ।’ यो अन्तर्राष्ट्रिय अभ्यासअनुसार परम्परागत प्रोटोकलबाट अलग हुने प्रधानमन्त्रीको प्रयास पनि मानिएको छ ।
प्रधानमन्त्री शाह नियमित कतार एयरवेजको उडानबाट दोहा हुँदै न्युयोर्क प्रस्थान गरेका हुन् । बुधबार दोहाबाट न्युयोर्क पुग्ने उनी बिहीबार ८ असोजमा महासभालाई सम्बोधन गर्नेछन् र सोही दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन् । ९ असोजमा न्युयोर्कबाट दोहा फर्कने र १० असोजमा काठमाडौं आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्री बनेयता यो उनको पहिलो विदेश भ्रमण हो । भ्रमण टोली अत्यन्तै सानो राखिएको छ, प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार बेन, प्रमुख शिष्टाचार अधिकृत कुमार खरेल, दुई जना सुरक्षा अधिकारी, एक फोटोग्राफर र एक प्रोटोकल अधिकारी मात्र साथमा छन् । परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै न्युयोर्क पुगिसकेका छन् भने दुई सहयोगी प्रदीप परियार र सुवास शर्मा व्यवस्थापनका लागि पहिले नै पुगेका थिए ।
यो सादा शैलीले नेपाली राजनीतिमा लामो समयदेखि जरा गाडेको भीआईपी संस्कृतिमाथि प्रश्न उठाएको छ । विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलको भीआईपी लाउन्जमा मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, विदेशी कूटनीतिज्ञ र राजनीतिक दलका नेताहरूको भीड लाग्ने गर्दथ्यो । नेपाली सेनाले गार्ड अफ अनर दिने र रेड कार्पेट बिछ्याउने परम्परा थियो । यस्तो तामझामलाई ‘राजकीय मर्यादा’ भन्दै जोगाइएको थियो । तर बालेन सरकारले यसलाई अन्त्य गर्दै सादा, व्यावहारिक र जनतासँग जोडिने शैली अपनाएको छ ।
यस सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को केही महिनाअघिको सुझाव सम्झनायोग्य छ । साउन १४ गते प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री बालेन शाहलाई पुराना अनुभवी नेता, बुद्धिजीवी र विज्ञहरूसँग संवाद गर्न आग्रह गरेका थिए । उनले भनेका थिए, ‘नेपालमा विगतका धेरै अनुभवहरूबाट गुज्रेका नेता, बुद्धिजीवी र विज्ञहरूको विशाल पंक्ति छ । ठूला–ठूला अप्ठेरा परिस्थितिलाई निकास दिने हैसियत राख्ने नेताहरूको पंक्ति छ । सुशासन, सामाजिक न्याय र समृद्धिका लागि लड्ने नेताहरूको पंक्ति पनि छ । लोकतन्त्रका लागि झन्डै ७० वर्षदेखि जेल, नेल, यातना भोगेका नेताहरूको पंक्ति छ । उनीहरूको अनुभव लिन, सहकार्य गर्न, संवाद गर्न प्रधानमन्त्रीलाई केले रोकेको होला ? मलाई अनौठो लाग्छ । उहाँले मलाई बोलाएर तपाईंले पनि भ्रष्टाचारका विरुद्ध लड्छु भनेर सुरु त गर्नुभएको थियो, केले तपाईंलाई सफल हुन दिएन भनेर सोधे पनि त हुन्थ्यो । केले रोक्यो उहाँलाई ? आफ्नै अहंकारले रोकेको हो कि ? म पर्याप्त छु, मलाई केही चाहिँदैन भन्ने लागेको हो कि ? यदि त्यो हो भने दुर्भाग्यपूर्ण हुनेछ ।’
प्रचण्डलगायत पुराना नेताहरूले ‘अनुभवीसँग सिक्न’ सुझाव दिइरहेका बेला बालेनले आफ्नो भ्रमण शैलीमार्फत उल्टो सन्देश दिएका छन्, भीआईपी तामझाम, औपचारिक समारोह र अनावश्यक प्रोटोकल नै पुरानो संस्कार हो, जसलाई अन्त्य गर्न आवश्यक छ । देश भोटेकोशी बाढीको विनाशकारी प्रभावबाट गुज्रिरहेको बेला (हालसम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको र ५ हजार ७ सय ४५ जना सम्पर्कविहीन रहेको अवस्थामा) विमानस्थलमा तामझाम गर्नु अनुचित हुने प्रधानमन्त्रीको धारणा रहेको अधिकारीहरूले बताएका छन् । यसका साथै धेरै देशमा विमानस्थलमा यस्ता औपचारिक कार्यक्रम नहुने अन्तर्राष्ट्रिय अभ्यासलाई पनि ध्यानमा राखिएको छ ।
महासभामा प्रधानमन्त्री शाहले नेपालको ‘जेन–जी’ आन्दोलन, बदलिँदो राजनीतिक परिवेश, नयाँ सरकारका प्राथमिकता, भोटेकोशी बाढीका कारण तल्लो तटीय क्षेत्रमा भएको विनाश, जलवायु न्याय र न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भएर पनि नेपालले जलवायुजन्य विपद्का कारण व्यहोर्नुपरेको क्षतिबापत क्षतिपूर्तिको माग उठाउने अपेक्षा गरिएको छ । न्युयोर्क बसाइका क्रममा उनले संयुक्त राष्ट्रसंघका अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् तर यसपटक कुनै द्विपक्षीय भेटवार्ता नगर्ने निर्णय लिएका छन् । विभिन्न देशका सरकार प्रमुखहरूले द्विपक्षीय भेटको अनुरोध गरे पनि उनले यसपटक त्यसलाई रोकेका छन् । यसले पनि उनको प्राथमिकता—अनावश्यक औपचारिकताभन्दा सारवस्तुमा केन्द्रित रहने शैली देखाउँछ ।
बालेन सरकारको यो कदमलाई राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया आएको छ । कतिपयले यसलाई ‘नयाँ युगको सुरुवात’ भनेका छन् भने केहीले ‘राजकीय मर्यादा’ ह्रास भएको आरोप लगाएका छन् । तर तथ्य के हो भने प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणमै यति ठूलो परिवर्तन ल्याइएको छ कि यसले भविष्यका भ्रमणहरूको शैली नै बदल्न सक्छ । सानो टोली, नियमित उडान, औपचारिक समारोहको अभाव र शोकको समयमा तामझाम नगर्ने निर्णय, यी सबैले ‘भीआईपी संस्कृति अन्त्य’ को सन्देश स्पष्ट रूपमा दिएका छन् ।
पुराना अनुभवी नेताहरूले ‘हामीसँग सिक’ भन्ने सुझाव दिइरहेका बेला बालेनले व्यावहारिक रूपमा देखाएका छन् कि सिक्नुपर्ने कुरा भीआईपी तामझाम होइन, बरु जनताको पीडासँग जोडिने सादा शैली हो । भोटेकोशी बाढीपछिको उद्धार तथा राहत कार्य अघि बढाइरहेका बेला पनि महासभामा सहभागी भएर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज उठाउने निर्णय गरेका प्रधानमन्त्री शाहले आफ्नो प्राथमिकता तामझाम होइन, काम हो भन्ने स्पष्ट पारेका छन् । जनधारणा साप्ताहिक


