काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने जनाएका छन् ।
उनले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै असंलग्न र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।
शनिबार ‘काष्ठमण्डप संवाद’ शृङ्खलाअन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका विस्तारित आयाम’ विषयक कार्यक्रममा सम्बोधन गर्दै खनालले नेपालले छिमेकी मुलुक चीनसँगको सम्बन्धलाई आर्थिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा थप विस्तार गर्नुपर्ने बताए। उनले नेपाल–चीन सीमापार रेलवे तथा ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई तीव्रता दिनुपर्ने धारणा राखे। साथै, बीआरआई फ्रेमवर्कलाई अघि बढाउने, चिनियाँ लगानी भित्र्याउने तथा सन्तुलित व्यापार सम्बन्ध कायम गर्नुपर्नेमा उनले जोड दिए। चीनको विकास मोडल तथा सामाजिक स्थायित्वबाट नेपालले महत्वपूर्ण पाठ सिक्न सक्ने खनालको भनाइ थियो ।

