काठमाडौं । स्पीन बलर चम्किएपछि मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमान विरुद्ध शानदार जित हासिल गरेको छ ।
नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा अलआउट भयो ।
जतिन्दर सिंहले सर्वाधिक २५ रन बनाए । जितेन रामानन्दीले १३ रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३(३ विकेट लिए भने रोहित पौडेल र ललित राजवंशीले २-२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५।४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो ।
दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । बसिर अहमदले ४७ रन बनाए । नेपाल ३६(४ को संकटपूर्ण अवस्थामा हुँदा दीपेन्द्र र बसिर मिलेर ९३ रनको साझेदारी गरेका थिए । देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । अन्य ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन । नेपालले २३ रनमा पहिलो विकेट गुमाएर ३६(४ को अवस्थामा पुगेको थियो भने त्यसपछि १२९(५ हुँदै १४७ रनमा अलआउट नै भयो ।
ओमानका लागि जय ओडेडराले १० ओभरमा २६ रन मात्र दिएर ३ विकेट लिए । हस्नैन शाहले ८.४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । मुहम्मद इमरानले २ विकेट लिँदा शकील अहमद र मुजिबुर अलीले १-१ विकेट लिए ।
नेपालले अब उपाधिका लागि यूएईसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ । फाइनल जित्न सके नेपाल एसिया कपमा छनोट हुनेछ । सेमिफाइनल जितेसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भने छनोट भएको छ ।


