काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ ।
सभापति गगनकुमार थापाले हिजो र आज गरी इतरपक्षका दुई नेता डा. शेखर कोइराला र पूर्णबहादुर खड्कालाई भेटेर पार्टीको विवाद समाधानबारे छलफल गरेपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो ।
कांग्रेसले भोटेकोशी बाढीले निम्त्याएको विपत्ति र आसन्न पन्ध्रौँ महाधिवेशनबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको हो । अहिले बैठकमा नेताहरुले बोल्ने क्रम जारी छ ।
सभापति थापाले हिजो निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए भने आज बिहान शेखर कोइरालालाई भेटेका थिए ।
दुवै नेताहरुसँगको भेटमा सभापति थापाले पन्ध्रौँ महाधिवेशनमा सहभागी हुन र महाधिवेशनबाटै सबै विवाद समाधान गर्न आग्रह गरेका थिए ।


