काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि राजनीतिक तथा राष्ट्रिय सहमति कायम गरिनुपर्ने जनाएका छन् ।
बिहिवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमा सभापति लामिछानेले राष्ट्रिय र राजनीतिक सहमतिमा विपद जोखिम न्यूनीकरण र व्यवस्थापनमा दीर्घकालीन योजना बनाउन सकिने जनाएका हुन् ।
बैठकपछि प्रवक्ता जगदीश खरेलले भने– ‘सभापतिले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि राजनीतिक तथा राष्ट्रिय सहमति कायम गरिनुपर्छ भन्नु भयो । त्यसलाई बैठकले पनि समर्थन गरेको छ ।’
बैठकमा सभापति लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल र निर्णयबारे जानकारी गराएका थिए । सो क्रममा लामिछानेले पछिल्लो विपद् व्यवस्थापनमा सम्पूर्ण राजनीतिक दलहरुबाट ऐक्यबद्धता व्यक्त भएको जनाएका थिए ।
बैठकमा बाढी प्रभावित क्षेत्रमा जारी खोजी, उद्धार, राहत तथा व्यवस्थापनका बारेमा पनि छलफल भएको थियो । तीनै तहका सरकारले समन्वयमा काम गर्नुपर्ने र तीनै तहका सरकारलाई रास्वपाको साथ रहेको खरेलले जानकारी दिए ।
खोजी, उद्धार तथा राहतका क्रममा जहाँ जहाँ समस्या देखिएको छ, ती समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको पनि खरेलले जानकारी दिए ।


