काठमाडौं । भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरुको रातभर उद्धार प्रयास भएको छ।
निरन्तरको वर्षा र अप्ठ्यारो परिस्थितिबिच प्रभावित क्षेत्रमा नेपाली सेनासहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको अथक प्रयास गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
रातको अँध्यारो र प्रतिकूल मौसमका कारण सिर्जित जोखिमलाई पन्छाउन उच्च क्षमताका फ्लडलाइटहरू जडान गरी कार्यस्थलमा काम जारी राखिएको थियो।
घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउनका लागि जेसीबीलगायतका भारी एक्स्काभेटरहरू निरन्तर प्रयोग गरिएका छन्, जसबाट बाटो खोल्ने र पुरिएका सम्भावित स्थानहरूसम्म पुग्ने कोसिस भइरहेको छ।


