ल्हासा । बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो तथा लेदोसहितको बाढीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अहिले पनि चीनतर्फ ५५४ जना बेपत्ता छन्।
सिचाङको आपत्कालीन व्यवस्थापन विभागका अनुसार शनिबार बिहानसम्म स्थानीय दुई जना बासिन्दाको उद्धार गरिएको छ। विपद्पछि उद्धार तथा खोजीका लागि २ हजार १४१ जना उद्धारकर्मी र ८६ जना विशेषज्ञ परिचालन गरिएको छ।
प्राकृतिक स्रोतसहित सम्बन्धित क्षेत्रका विशेषज्ञलाई समेत परिचालन गरी आसपासका भीर, सडक तथा अन्य जोखिमयुक्त क्षेत्रमा सम्भावित भौगर्भिक जोखिमबारे निरीक्षण तीव्र पारिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
सम्भावित थप विपद् रोक्न पहिरोका कारण बनेको तालको निरन्तर निगरानीका लागि पाँच सदस्यीय अनुगमन टोली समेत खटाइएको छ।
यसैबीच, विपद्का कारण अवरुद्ध भएको १.०२ किलोमिटर सडक सफा गरी पुनः सञ्चालनमा ल्याइएको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
बुधबार बिहान नेपालतर्फ आएको पहिरो तथा लेदोसहितको बाढी चीनको सिजाङ स्वायत्त क्षेत्रको केरुङ काउन्टीस्थित केरुङ बन्दरगाहसम्म पुगेको थियो। यसको प्रभाव सीमावर्ती क्षेत्रमा ठूलो क्षति भएको छ।


