काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको जनाएका छन्।
बिहीबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भोटेकोशी नदीमा आएको भीषण बाढीलाई अत्यन्तै भयावह भन्दै अमेरिकाले नेपालसँग सम्पर्क गरिसकेको र सहयोगको प्रस्ताव गरेको जानकारी दिए।
‘हामी सहयोग पठाउँदैछौं। अमेरिकी अधिकारीहरूले नेपालको नेतृत्वसँग कुराकानी गर्दै आवश्यक पर्ने सबै प्रकारको सहायता उपलब्ध गराउने छौं। उनीहरूलाई जे चाहिन्छ, हामी उपलब्ध गराउनेछौं,’ उनी भन्छन्।
धबार आएको बाढीले नेपाल र तिब्बतका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। पछिल्लो विवरणअनुसार कम्तीमा ३८९ जनाको मृत्यु भइसकेको छ भने नेपाल र तिब्बतमा गरी कुल एक हजार ४०० भन्दा बढी मानिस अझै बेपत्ता छन्।
प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै बढ्न सक्ने प्रहरीले जानकारी गराए ।
नेपाल र चीन दुवै पक्षले पहाडी क्षेत्रमा भएको ठूलो पहिरो तथा जमिन भत्किँदा ढुंगा, बरफ, हिलो र अन्य कुराले नदी तथा खोलामा बगेर आएको बाढीले ठूलो विनाश निम्त्याएको जनाएका छन्।
अहिले प्रभावित क्षेत्रमा उद्धार टोलीहरूले सोही ढुंगा, बरफ, हिलो र अन्य कुराले भरिएका खोँच, पहाडी क्षेत्र र नदी आसपासका स्थानमा बेपत्ताको खोजी गरिरहेका छन्। सरकारले क्षतिको वास्तविक विवरण संकलन तथा तथ्यांक मिलाउने काम पनि जारी राखेका छन्।


