काठमाडाैं । नेपाली कांग्रेसले लामो समयदेखि विभिन्न मुलुकमा राजदूत पद रिक्त रहँदा नेपालको विदेश नीतिमा नकारात्मक प्रभाव परेको जनाएको छ।
कांग्रेसको केन्द्रीय समितिको बैठकले तत्काल राजदूत नियुक्त गर्न सरकारलाई आग्रह गरेको छ। राजदूत देशको प्रतिनिधित्व गर्ने महत्वपूर्ण संस्था भएकाले लामो समयसम्म पद रिक्त राख्नु उचित नभएको कांग्रेसको निष्कर्ष रहेको पार्टी प्रवक्ता देवराज चालिसेले जनाए ।
वाणिज्य दूतावास तथा अन्य कूटनीतिक निकायमा आवश्यक जनशक्ति र नेतृत्वको अभावका कारण विदेशमा रहेका नेपालीले पासपोर्ट नवीकरणदेखि मृतकको शव नेपाल ल्याउनेसम्मका सामान्य काममा समेत कठिनाइ भोग्नुपरेको उनले जनाए ।
विदेशबाट प्राप्त रेमिट्यान्सलाई मात्रै प्राथमिकता नदिई विदेशमा रहेका नेपाली नागरिकको जीवन र समस्याप्रति पनि सरकारले जिम्मेवारी लिनुपर्ने उनको धारणा छ। उनले भने, ‘देशको विदेश नीतिमा राजदूत भनेको सामान्य विषय होइन, देशको प्रतिनिधित्व गर्ने संस्था राजदूतविहीन हुनु भनेको हाम्रो विदेश नीतिमा अपरिपक्वता देखिएको छ।’
कांग्रेसले विभिन्न सरकारी निकायमा अध्यादेशमार्फत पदाधिकारीलाई अवकाश दिएर नयाँ नियुक्ति गरिएको विषयमा पनि प्रश्न उठाएको छ। पुराना पदाधिकारी हटाएर योग्य व्यक्ति ल्याउने दाबी गरिए पनि हालका नियुक्तिमा सत्तासँग निकट व्यक्तिलाई प्राथमिकता दिएको देखिएको कांग्रेसको आरोप छ।
सरकारी नियुक्तिमा पारदर्शिता, निष्पक्षता र योग्यता प्रणाली पूर्ण रूपमा अवलम्बन नभएको भन्दै कांग्रेसले यस विषयलाई गम्भीर चासोको रूपमा लिएको जनाएको छ। कांग्रेसले सरकारलाई नागरिकका दैनिक समस्यादेखि राष्ट्रिय विपद्, सामाजिक सद्भाव, कूटनीतिक प्रतिनिधित्व र सरकारी नियुक्तिसम्मका विषयमा जवाफदेही र जिम्मेवार बन्न आग्रह गरेको छ।


