काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधिसभामा सांसदले सोधेका प्रश्नोउत्तरमा सहभागी हुन रुलिङ गरेका छन्।
विपक्षी दलहरुले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन निरन्तर उठाउँदै आएको आवाजलाई बेवास्ता गर्दै आएको सभामुख अर्यालले सोमबार भने रुलिङ गरेका हुन्।
प्रतिनिधिसभामा नियमावली २०८३ ले प्रत्येक महिनाको पहिलो हप्ताको पहिलो दिन प्रधानमन्त्री संसदमा प्रत्यक्ष प्रश्नोउत्तरमा सहभागी हुनुपर्ने व्यवस्था छ। त्यसको कार्यान्वयका माग गर्दै विपक्षी दलहरुले संसदमा आन्दोलन गरे पनि सभामुख अर्यालले दबाउँदै आएका थिए।
सोमबार भदौ महिनाको पहिलो दिनमै अर्यालले भने, ‘नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरुको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।’
नियम ५६ मा प्रधानमन्त्री पहिलो महिनाको पहिलो हप्ताको एक दिन संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने व्यवस्था छ।
चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले संसदलाई निरन्तर हेप्दै आएका थिए। जेठ १७ गते आकस्मिक रुपमा सदनमा उपस्थित भएर नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएका दिएका शाह त्यसपछि पनि सदनप्रति जवाफदेही बन्न सकेका छैनन्।


