काठमाडौं । हुलाकसेवालाई आधुनिक र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर सेवा’ का रूपमा विकास गर्ने अभियानले गति लिएको छ । सरकारी कागजात तथा सामग्री ढुवानीसँगै राहदानी, सवारीचालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायत सेवा नागरिकको घरदैलोसम्म पु¥याउने व्यवस्था कार्यान्वयनमा आएपछि हुलाकसेवाको प्रयोग विस्तार हुँदै गएको हो ।
नयाँ सरकार गठनपछि मन्त्रीपरिषद्को पहिलो निर्णयबाट कार्यान्वयनमा ल्याइएको ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ तथा सूचना तथा सञ्चार मन्त्रालयको कार्यक्षेत्र अन्तर्गतका प्रमुख १० कार्यमध्ये हुलाकलाई सरकारी सामग्री तथा कागजात ढुवानी सेवाका रूपमा विकास गर्ने लक्ष्य अनुसार अहिलेसम्म उल्लेखनीय प्रगति भएको हुलाकसेवा विभागले जनाएको छ ।
‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ कार्यान्वयनमा आएदेखि अहिलेसम्म हुलाकमार्फत १० हजार नागरिकले घरदैलोमै सेवा पाएको र साढे १० लाख सवारीचालक अनुमतिपत्र (लाइसेन्स) र दुई लाख ५० हजार राहदानी ढुवानी भएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
हुलाकसेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार अहिलेसम्म हुम्लाबाहेक सबै जिल्लामा सरकारी कागजात घरमै पु¥याउने सरकारको योजना लागु भइसकेको छ । हुम्लामा पनि कार्यान्वयनको अन्तिम तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
साढे दुई लाख राहदानी ढुवानी
हुलाक सेवा विभागका अनुसार साउन २७ गतेसम्म ७६ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा दुई लाख ४७ हजार ४३ थान राहदानी हुलाकमार्फत ढुवानी गरिएको छ । तीमध्ये आठ हजार ६६९ थान राहदानी सेवाग्राहीको घरदैलोमै पु¥याएर वितरण गरिएको छ । त्यसै गरी सवारीचालक अनुमतिपत्रतर्फ यातायात व्यवस्था विभागबाट प्राप्त १० लाख ३८ हजार ८०८ थान अनुमतिपत्र सातै प्रदेशका यातायात व्यवस्था कार्यालयमा हुलाकमार्फत पु¥याइएको छ । तीमध्ये एक हजार ९९ थान अनुमतिपत्र सेवाग्राहीको घरदैलोमै पु¥याइएको विभागले जनाएको छ ।
सवारीचालक अनुमतिपत्र घरदैलोमै पु¥याउने उद्देश्यले कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र हुलाक निर्देशनालय, सुर्खेतबिच समझदारीपत्रमा हस्ताक्षर भई सेवा सुरु भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा पनि यस्तै सेवा विस्तार गर्न छलफल भइरहेको हुलाक सेवा विभागले जनाएको छ ।
स्वास्थ्य क्षेत्रमा सेवा विस्तार
हुलाक सेवा विभागका अनुसार स्वास्थ्यक्षेत्रमा पनि हुलाक सेवाको प्रयोग विस्तार भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सम्झौता अनुसार १७ वटा अस्पतालका एक हजार ४८० वटा प्रयोगशाला नमुना ढुवानी गरिएको छ । स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रसँग भएको सम्झौता अनुसार ४४ हजार १८४ थान सामग्री पनि हुलाकमार्फत ढुवानी गरिएको छ । त्यसै गरी स्वास्थ्य बिमा बोर्डसँगको सम्झौता अनुसार २८ भन्दा बढी जिल्लास्थित स्वास्थ्य बिमा कार्यालयमा १३० बोरा स्वास्थ्य सामग्री ढुवानी गरिएको विभागले जनाएको छ ।
वायुसेवा कम्पनीसँग सम्झौता
हुलाक सामग्रीको हवाई ढुवानी सहज बनाउन विभिन्न वायुसेवा कम्पनीसँग सम्झौता तथा पूरक सम्झौता गरिएको विभागले जनाएको छ । थप अन्तर्राष्ट्रिय गन्तव्य विस्तारका लागि कतारको राष्ट्रिय वायुसेवा कम्पनीसँग पनि सहकार्यका विषयमा छलफल भइरहेको छ । नेपाल वायुसेवासँग अन्तर्राष्ट्रिय डाँक ढुवानीको रकम भुक्तानीसम्बन्धी विषयमा छलफल गरी नेपाल वायुसेवा र हुलाक सेवा विभागबिच भएको सम्झौता संशोधन गर्ने निर्णय भएको विभागले जनाएको छ ।
हुलाकको आन्तरिक निगरानी प्रणालीलाई थप स्तरोन्नति गरी राहदानी विभागसँग प्रत्यक्ष जोड्ने विषयमा सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग, केन्द्रीय हुलाक कार्यालय, राहदानी विभाग र परराष्ट्र मन्त्रालयबिच छलफलसमेत भएको छ । यससम्बन्धी अध्ययन टोलीले प्रतिवेदन पेस गरिसकेको विभागले जनाएको छ । हुलाक सेवा विभागका अनुसार सरकारको नीति तथा कार्यक्रम अनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’ मा रूपान्तरण गर्ने अभियानसमेत अघि बढाइएको छ ।


