काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा आयोजना गरिएको एक कार्यक्रममा कांग्रेसको इतर समूहका नेताहरूले पार्टी सभापति गगन थापामाथि खनिएका छन्।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित कार्यक्रममा अधिकांश वक्ताहरूले सभापति थापाको कार्यशैलीलाई लिएर आलोचना गरेका हुन्।
कार्यक्रममा बोल्ने पहिलो वक्ता, भक्तपुरका जिल्ला सभापति एवं पूर्वसांसद दुर्लभ थापाले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीको साख गिराएको आरोप लगाएका थिए ।
उनले सानेपास्थित पार्टी कार्यालय कब्जा गर्न उपस्थित कार्यकर्तालाई आग्रह गर्दा हलमा हुटिङ भएको थियो।
विद्यार्थी नेताहरूले पनि सभापति थापामाथि गम्भीर आरोपहरू लगाए। शंकरदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेतले पूर्वसभापति शेरबहादुर देउवाको निवासमा भएको तोडफोड र लुटपाटमा थापाका कार्यकर्ता संलग्न रहेको आरोप लगाए।
त्यसैगरी विद्यार्थी नेतृ सृजना मल्ल र पूर्वविद्यार्थी नेता कुन्दनराज काफ्लेले थापाको अभिव्यक्ति र हैसियतमाथि प्रश्न उठाए। काफ्लेले देशको परिस्थिति बिग्रनुमा राष्ट्रपति रामचन्द्र पौडेलको समेत भूमिका रहेको टिप्पणी गर्दै पार्टी विभाजनको स्थितिमा पुगेको जनाए ।
राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतले थापाको सम्बन्ध सेनासँग जोड्दै आक्षेप लगाए र सर्वोच्च अदालतको फैसलाप्रति आक्रोश व्यक्त गरे।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले थापामाथि विगतका घटनाहरू जोडेर आरोप लगाए भने पूर्वमन्त्री मोहन बस्नेत र कान्छाराम तामाङले थापासँग सहकार्य गर्न नसकिने भन्दै नयाँ पार्टी गठनको आवश्यकता औंल्याएका थिए ।
सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पनि नयाँ पार्टी निर्माणका लागि तयार रहेको संकेत गरे। कार्यक्रममा शीर्ष नेताहरूले पनि सभापति थापामाथि नै प्रश्न तेर्स्याए। नेता डा. शेखर कोइरालाले पार्टीमा हुकुमी शैली अपनाइएको र दुर्घटना भए त्यसको जिम्मेवारी थापाले नै लिनुपर्ने चेतावनी दिए।
नेता विमलेन्द्र निधिले वैचारिक विचलनको आरोप लगाए भने नेता कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले पार्टी कब्जा गर्ने षड्यन्त्र भइरहेको जनाए । नेता सिंहले साउन २९ गतेका लागि राष्ट्रिय भेला बोलाउने निर्णय भएको जानकारी समेत दिए।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आत्मसम्मान त्यागेर समर्पण नगर्ने स्पष्ट पारे।
बीपीपुत्र डा. शशांक कोइरालाले सहमतिका लागि नेतृत्वले पहल गर्नुपर्ने बताए पनि धेरैजसो वक्ताहरूले पार्टी फुटको सम्पूर्ण दोष सभापति थापामाथि नै जाने दाबी गरे।
साउन २९ सम्म सहमति नभए समानान्तर महाधिवेशन गरेर अघि बढ्ने इतर समूहको तयारी रहेको छ।
