काठमाडौं । उदयपुर, उदयपुरगढी गाउँपालिका-७ फुस्रेस्थित सडकमा स.५ प ४९ नम्बरको मोटरसाइकल र ना.५ ख २८४२ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार उदयपुरगढी गाउँपालिका-३ बर्रे बस्ने २८ वर्षीया एमुना विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-८ जोगिनिया माईथानस्थित सडक छेउमा रोकी राखेको स.१ त ५५५६ नम्बरको ट्याक्टरमा अन टेष्ट लेखिएको ई-रिक्सा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा ई-रिक्सामा सवार सुनसरी कोशी गाउँपालिका-७ बस्ने ७५ वर्षीया बुचिया देवी मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भारदह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ई-रिक्सा चालकलाई नियन्त्रणमा लिई हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।
सिराहा, मिर्चैया नगरपालिका-१ रामपुर बिर्तास्थित सडकमा बिर्ता चोकबाट रामपुर बिर्ता गाउँतर्फ जाँदै गरेको म.प्र. ०१-००१ त २७६६ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ मलहनिया बस्ने २० वर्षीय दिनेश कापडको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दैलेख, चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ स्थित सडकमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र.०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार हाल नाम, थर र वतन नखुलेका पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दुल्लु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


