काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनका लागि जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने जनाएकी छन्।
६८ औँ संसद दिवसको अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो जनाएकी हुन्।
‘संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनका लागि जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्छ। प्रक्रियाका विषयमा कार्यव्यवस्था बैठक हुन्छ, अन्य विभिन्न बैठकहरू पनि हुन्छन्। हाम्रा अनौपचारिक बैठकहरू पनि हुन्छन्। ती बैठकहरूमा धेरै विषय सुल्झाउन सकिन्छ, दलहरूबीच छलफल गरेर टुङ्ग्याउन सकिन्छ। तर जब संसदको बैठकमा बस्छौँ, जनताका मुद्दामै छलफल गरौँ। किनभने जनताले तिरेको करबाट राज्यकोष सञ्चालन हुन्छ, र त्यही कोषबाट हामी पनि सञ्चालन भइरहेका हुन्छौँ,’ उनले भनिन्।
साथै, मन्त्री गौतमले पछिल्लो समय संसदको गुणस्तर खस्किँदै गएको जनगुनासोप्रति आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याइन्।
उनले भनिन्,’अनौपचारिक रूपमा गफ गर्ने बेला पनि सुनिन्छ, पहिलाको संसद्को तुलनामा अहिलेको संसदको गुणस्तर धेरै खस्किएको छ। आखिर किन खस्किँदै गएको छ भन्ने प्रश्नमा हामी आफैँले मनन गरौँ। हामीले संसद्मा बोल्ने भाषा, उच्चारण गर्ने शब्द, र संसद्मा आउँदा लगाउने पोशाकदेखि लिएर हरेक कुरामा मर्यादित हुनुपर्छ। यदि हामी संसदको मान राख्छौँ भने, त्यो मर्यादा हामीले आफ्नै व्यवहारबाट कायम गर्नुपर्छ। त्यसो गर्न सक्यौँ भने संसद मर्यादित छ र संसद्को गरिमा उच्च छ भन्ने कुरा स्वतः पुष्टि हुन्छ।
त्यसकारण, सम्पूर्ण माननीयज्यूहरूलाई मेरो आग्रह छ–यो जनताको सर्वोच्च थलो हो, जनताका प्रतिनिधि उपस्थित हुने थलो हो। यस संस्थालाई सर्वोच्च संस्थाका रूपमा कायम राख्ने दायित्व हाम्रै व्यवहारले देखाउनुपर्छ। हाम्रो आचरणमा कतै पनि कमजोरी नआओस्। म स्वयं यसका लागि शतप्रतिशत प्रयत्न गर्नेछु। यो मेरो आफैँसँग गरेको प्रतिवद्धता हो।’


