लामो राजनीतिक विरासत बोकेको एमाले अहिले थिलथिलो अवस्थामा छ । आन्तरिक कलह, नेतृत्वको अडान र युवा पुस्तासँगको दूरीले पार्टी विभाजनको संघारमा पुगेको देखिन्छ । अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनबाट सत्ताच्युत र निर्वाचनबाट एमाले २५ सिटमा खुम्चिएपछि पार्टीभित्र अल्पमतमा परेका छन् । १९ सदस्यीय सचिवालयमा उनी स्पष्ट अल्पमतमा छन् । उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरू ओलीको विकल्प खोज्ने अभियानमा लागेका छन् । रामबहादुर थापा बादलको नेतृत्वमा गठित १५ सदस्यीय पुनर्गठन कार्यदलले रूपान्तरणको खाका बनाइरहेको छ ।
यो अवस्था यत्तिकै आएको होइन । जेनजी आन्दोलनले भ्रष्टाचार, बेरोजगारी, नातावाद र राज्य दमनविरुद्ध युवाको व्यापक विद्रोह देखायो । एमाले नेतृत्वले आन्दोलनलाई ‘षड्यन्त्र’ को संज्ञा दिँदा युवा मतदाताहरू थप विद्रोही बने । निर्वाचनमा पार्टीले पुरानै शैली दोहो¥याउँदा नयाँ पुस्तालाई आकर्षित गर्न सकेन । परिणामस्वरूप पार्टीले अघिल्लो निर्वाचनको तुलनामा करिब ५० प्रतिशत मत गुमायो । एमालेको मुख्य समस्या नेतृत्वको अडान र अनुकूलन क्षमताको कमी हो । केपी ओलीले पार्टीको आधार बलियो बनाए पनि उमेर र पुरानो सोचले नयाँ चुनौती सामना गर्न गाह्रो भइरहेको छ । युवा नेताहरूलाई पर्याप्त स्थान नदिँदा असन्तुष्टि चुलिएको छ । ओली पक्षले अहिले विष्णु पौडेल र शंकर पोखरेललाई ‘पार्टी फुटाउने’ आरोप लगाइरहेका छन् । तर वास्तविकता यो हो कि पार्टीभित्रको यो घेराबन्दी ओलीको आफ्नै शैली र निर्णयबाट उत्पन्न भएको हो ।
यदि अब पनि पुराना नेताहरूले आफूलाई सुधार्न सकेनन् भने एमाले नेपाली राजनीतिको मुख्यधाराबाट सधैंका लागि हराउने जोखिम बढेको छ । रास्वपा जस्ता नयाँ शक्तिहरूले युवा र परिवर्तनकारी मत खोस्दै गएका छन् भने कांग्रेसले पनि आन्तरिक सुधारको प्रयास गरिरहेको छ । एमाले विभाजन भएमा यसले वामपन्थी शक्तिलाई थप कमजोर बनाउनेछ ।
यो संकटबाट जोगिन एमालेले तत्काल ठोस कदम चाल्नुपर्छ । पहिलो, युवा पुस्तालाई पार्टी संरचनामा उल्लेखनीय स्थान दिनुपर्छ । दोस्रो, भ्रष्टाचारविरोधी आन्तरिक शुद्धीकरण आवश्यक छ । तेस्रो, नीति तथा कार्यक्रमलाई नयाँ पुस्ताको आकांक्षासँग जोड्नुपर्छ, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यावरण र सुशासनजस्ता मुद्दामा स्पष्ट अडान लिनुपर्छ । चौथो, गुटबन्दीभन्दा माथि उठेर सामूहिक नेतृत्व विकास गर्नुपर्छ । विशेष महाधिवेशनलाई अवसर बनाएर पार्टीको पुनर्गठन गर्न सकिन्छ ।
एमालेका नेताहरूले अब पनि आफूलाई नसुधारे पार्टीको अस्तित्व नै संकटमा पर्नेछ । नेपाली राजनीतिबाट सधैंका लागि हराउने जोखिमबाट बच्न उनीहरूले तत्काल आत्मसमीक्षा र सुधारको बाटो रोज्नुपर्छ । समय अझै बाँकी छ, तर यो अवसर सधैं रहनेछैन । गत वर्षको जेनजी आन्दोलन र निर्वाचनपछि एमालेले सर्वस्व गुमाएर खरानी मात्र हात परेको छ । अब एमाले नेताहरुसामु दुई विकल्प छन् । पहिलो, नेताहरु आफ्नो अहंकारबाट मुक्त भएर खरानी भए पनि उठाउने वा अहंकारको टकरावले खरानी भएर सिद्धिने ।


