कल्पना घिमिरे कल्पना
काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको काठमाडौं चक्रपथ दोस्रो खण्ड (कलंकी–बसुन्धरा) को विस्तार प्रक्रियाले अन्ततः गति लिने भएको छ । नेपाल सरकार र चिनियाँ पक्षबिच यस खण्ड विस्तारका लागि औपचारिक सम्झौता भएसँगै निर्माणको बाटो खुलेको हो ।
बुधबार भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबिच उक्त सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ । यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ ।
गत फागुनमै सरकारले कर छुटको निर्णय गरिसकेको भए पनि निर्वाचन र सरकार परिवर्तनका कारण सम्झौता प्रक्रियामा ढिलाइ हुँदै आएको थियो । सन् २०१९ देखि सुरु गरिएको पहिलो चरणमा कोटेश्वर–कलंकीसम्मको सडक विस्तार सम्पन्न गरेलगत्तै चीनले दोस्रो खण्ड विस्तारका लागि सहमति गरेको थियो । तर कोभिड १९ लगायतका कारण विस्तारमा ढिलाइ भइरहेको थियो । करिब ७ वर्षपछि दोस्रो खण्ड विस्तार प्रक्रिया अघि बढेको छ ।
किन भयो ढिला ?
चक्रपथ विस्तार ढिला हुनुमा नियमित प्रशासनिक प्रक्रियाको परिणाम भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्व सचिव केशवकुमार शर्माले स्पष्ट पारेका छन् ।
पूर्वसचिव शर्माले चक्रपथ विस्तारको काम लामो समयदेखि प्रक्रियामा रहेको र अहिले कार्यान्वयनको चरणमा पुगेको बताएका हुन् । ‘यो सबै प्रक्रियामै थियो,’ शर्माले भने, ‘उनीहरूले डिटेल डिजाइनको ठेक्का गरे, डिजाइन आएपछि एस्टिमेट भयो र अहिले काम सुरु गर्ने (इम्प्लिमेन्टेसन) सम्झौता भएको हो । यो त सुरुमा अर्थ मन्त्रालयसँग अनुदान सहायताको सम्झौताबाट सुरु भएर फिजिबिलिटी र डिजाइन हुँदै अघि बढेको नियमित प्रक्रिया हो ।’
सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक अर्जुन प्रसाद अर्यालका अनुसार सम्झौतासँगै अब प्राविधिक कामहरू अगाडि बढ्नेछन् । चिनियाँ कम्पनीले यसअघि नै प्रारम्भिक डिजाइन तयार पारिसकेको छ । अब उनीहरूले विस्तृत सर्भे र डिजाइन स्वीकृतिका लागि सडक विभागमा पेस गर्नेछन् ।
विस्तार कार्यमा भएको ढिलाइबारे शर्माले प्रशासनिक र राजनीतिक अस्थिरताले केही असर पुर्याएको उल्लेख गरे । विशेषगरी, कर छुटसम्बन्धी वा अन्य सुविधाहरूका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाउनुपर्ने र सरकार परिवर्तन वा संसद् विघटन हुँदा त्यस्ता प्रस्तावहरू निष्क्रिय हुने गरेको उनले बताए ।
‘पहिला पेस भएको क्याबिनेट नै भंग भएपछि फाइलहरू फिर्ता हुन्छन् र फेरि अर्को प्रक्रियाबाट पठाउनुपर्ने हुन्छ,’ ढिलाइको कारण खुलाउँदै उनले थपे, ‘आन्दोलन र राजनीतिक परिवर्तनका बेला पेस भएका फाइलहरू फिर्ता हुने र पुनः पठाउनुपर्ने जस्ता प्राविधिक र प्रशासनिक कारणले मात्र केही समय लागेको हो ।’
चीनले लामो समयदेखि रोकेको विस्तार कार्य अहिले अघि बढ्नुमा कुनै विशेष राजनीतिक संकेत नभई प्राविधिक र प्रशासनिक तयारी पूरा भएकाले सम्झौता सम्भव भएको उनको दाबी छ ।
अबको प्रक्रिया के हुन्छ?
सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक अर्जुन प्रसाद अर्यालका अनुसार सम्झौतासँगै अब प्राविधिक कामहरू अगाडि बढ्नेछन् । चिनियाँ कम्पनीले यसअघि नै प्रारम्भिक डिजाइन तयार पारिसकेको छ । अब उनीहरूले विस्तृत सर्भे र डिजाइन स्वीकृतिका लागि सडक विभागमा पेस गर्नेछन् ।
‘उहाँहरूले पेस गरेको डिजाइनमा विभागले आवश्यक टिप्पणी दिनेछ र सोही आधारमा सुधार भएपछि डिजाइन एप्रुभ गरिनेछ,’ अर्यालले भने । डिजाइन स्वीकृत भएपछि मात्र ठेक्कापट्टाको प्रक्रिया अगाडि बढ्नेछ ।
यो आयोजना चिनियाँ अनुदानमा निर्माण हुन लागेकाले ठेकेदार छनोटको सम्पूर्ण जिम्मेवारी चिनियाँ पक्षकै हुनेछ । चिनियाँ पक्षले आफ्नै प्रक्रियामार्फत ठेकेदार छनोट गरी निर्माण कार्य अगाडि बढाउने अर्यालले जानकारी दिए । डिजाइन स्वीकृतिको चरणमा ठेक्का प्रक्रिया र लाग्ने समयबारे थप स्पष्ट हुने उनको भनाइ छ ।
के के बन्दैछन् संरचना
करिब ८.२ किलोमिटर लामो यो खण्ड विस्तारका लागि चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्र्ट हाइवे कन्सल्टेन्ट्स र सिआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङ लिमिटेडले डिजाइन गरेको छ । चीनको सहरी रोड स्ट्यान्डर्ड अनुसार आठ लेनमा विस्तार गरिने उल्लेख छ ।
चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलंकी) विस्तार सम्पन्न भएको लामो समय बितिसक्दा पनि दोस्रो खण्डको काम सुरु हुन नसक्दा सो क्षेत्रमा ट्राफिक जाम र धुलोको समस्या बढ्दो छ । यो सम्झौतासँगै अब उपत्यकावासीले छिट्टै सुविधायुक्त सडक पाउने आशा पलाएको छ ।
साथै यो खण्डमा कलंकी–स्युचाटार पुल १६ मिटर लम्बाइको र विष्णुमती नदीमाथि ६४ मिटरको पुल निर्माण गर्नेगरी डिजाइन गरिएको छ । साथै १३ वटा कल्भर्ट र चारवटा अपांगमैत्री आकाशेपुल निर्माण हुनेछ । यी पुल सीतापाइला–स्वयम्भू, ढुंगेधारा–बालाजु, बालाजु–माछापोखरी र सामाखुसी–बसुन्धरा चौकीको बिचमा बनाइनेछ ।
यातायात व्यवस्थापनलाई सहज बनाउन माछापोखरीदेखि बसपार्कसम्म ५६० मिटर लम्बाइको ओभरपास निर्माण गर्नेगरी डिजाइन भएको छ । उक्त सडकमा सवारीसाधन तथा यात्रुको गन्तव्य परिवर्तनका लागि ११ वटा इन्टरसेक्सन र २२ वटा बस बस बिसौनी निर्माण गर्ने गरी डिजाइन तयार भएको छ । सडकको कुल चौडाइ ३८.५ मिटरमध्ये दुवै छेउमा २.७५ मिटर फुटपाथ, दुईतर्फी चार लेन सडक र सडकको बिचमा बोटबिरुवा रोप्ने तथा बिजुली र इन्टरनेटका तार व्यवस्थापन गर्न तीन मिटर भाग रहनेछ ।
कहिलेदेखि सुरु हुन्छ काम ?
उपमहानिर्देशक अर्यालले चालु आर्थिक वर्षभित्रै (आगामी असारसम्म) काम सुरु हुने सम्भावना रहेको बताए । उनले भने, ‘अहिले नै प्रक्रिया सुरु भइसकेकाले अब धेरै समय लाग्दैन । असारसम्ममा काम सुरु हुने सम्भावना अझै देखिन्छ ।’
चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलंकी) विस्तार सम्पन्न भएको लामो समय बितिसक्दा पनि दोस्रो खण्डको काम सुरु हुन नसक्दा सो क्षेत्रमा ट्राफिक जाम र धुलोको समस्या बढ्दो छ । यो सम्झौतासँगै अब उपत्यकावासीले छिट्टै सुविधायुक्त सडक पाउने आशा पलाएको छ ।
चीनले कोटेश्वर–कलंकी खण्ड (१०.३९ किलोमिटर) २०६९ सालमा सुरु गरेको थियो । आठ लेनमा विस्तार गरिएको यो सडक चीनको करिब ५ अर्ब रुपैयाँ अनुदानमा २०७५ सालमा सम्पन्न भएको थियो, जसमा सरकारले समग्रमा कर छुट दिएको थियो ।
कलंकी–बसुन्धरा खण्डमा पनि सरकारले कर छुट दिइएको छ । गत फागुन १२ गते मन्त्रिपरिषद्ले निर्माण सामग्रीमा भन्सार छुट दिने निर्णय गरेको थियो ।
साथै चक्रपथको तेस्रो खण्ड महाराजगञ्ज–कोटेश्वर भने नेपाल सरकार आफैंले विस्तार अघि बढाएको छ । अहिले सडक डिभिजन काठमाडौँले महाराजगञ्जदेखि चप्पल कारखानासम्म सडक विस्तार अघि बढाएको छ । चप्पल कारखानादेखि धोबीखोलासम्म थप करिब ९०० मिटर सडकखण्ड विस्तारका लागि ५१ करोड रुपैयाँ बराबरको बजेट सहमतिका लागि राष्ट्रिय योजना आयोगमा पठाइएको डिभिजनले जनाएको छ । राताेपाटी


