काठमाडौं । टर्कीको अन्टालियामा आयोजना हुने २२औं विश्व केम्पो च्याम्पियनसिपमा सहभागी हुन नेपाली केम्पो टोली प्रस्थान गरेको छ। अप्रिल २६ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट १६ सदस्यीय टोली सहभागी हुने भएको हो।
नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल शाहको नेतृत्वमा गएको टोलीमा ६ पुरुष र ४ महिला खेलाडी समावेश छन् भने अन्य सदस्यहरू अफिसियल र अभिभावक रहेका छन्।
पुरुषतर्फ सुरेश पराजुली (६५ केजी), सुलभ श्रेष्ठ (३० केजी) र कृदिक्स विक्रम कुँवर (२५ केजी) ले सेमी केम्पोमा प्रतिस्पर्धा गर्नेछन्। दिलमान लामाले फुल केम्पो, काता र सेल्फ डिफेन्स विधामा भाग लिनेछन् । यमन पाण्डेले फुल केम्पो, सेमी केम्पो, सबमिसन, सेल्फ डिफेन्स र काता गरी पाँच विधामा प्रतिस्पर्धा गर्नेछन् भने शिवहरी राईले सेमी र फुल केम्पोसहित काता र सबमिसनमा चुनौती प्रस्तुत गर्नेछन् ।
टोली प्रस्थानका क्रममा अध्यक्ष पाभेल शाहले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने विश्वास व्यक्त गरेका छन् । खेलाडीहरूले पनि देशको नाम उच्च राख्ने प्रतिबद्धता जनाएका छन् ।


