काठमाडौं । नेपालकी कराते स्टार एरिका गुरुङले चीनमा भएको कराते वान प्रिमियर लिग २०२६ मा रजत पदक जितेकी छन्।
आइतबार भएको स्वर्ण पदकको भिडन्तमा एरिकाले कजाखस्तानकी सोफिया बेरुत्सेभासँग प्रतिस्पर्धा गरेकी थिइन्।
तर एरिका फाइनलमा २-१ अंकले पछि पर्दा स्वर्ण जित्ने अवसर गुमाइन्।
यसअघि टर्कीमा भएको कराते वान प्रिमियर लिगमा पनि एरिकाले फाइनलमा सोफियासँगै प्रतिस्पर्धा गरेकी थिइन्। त्यतिबेला पनि एरिका पराजित भएकी थिइन्। आइतबार पनि पराजित भएपछि एरिकाले बदला लिने अवसर पनि गुमाइन्।
यसपटक चीनमा एरिकाले सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लेअलाई ८-३ ले पराजित गर्दै स्वर्ण पदकको भिडन्त पक्का गरेकी थिइन्।
करातेको प्रिमियर लिग वर्षमा चार पटक हुन्छ। राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठका अनुसार विश्व वरीयतामा एरिका हाल ११ औं स्थानमा छिन्।


