सिओल । एलजी इलेक्ट्रोनिक्सले कोरियाको बुसानमा आयोजित LG InnoFest 2026 APAC मा एशिया–प्रशान्त बजारका लागि तयार पारिएका नयाँ उत्पादन, प्रविधि र दीर्घकालीन विकास रणनीति प्रस्तुत गरेको छ।
“Innovation, Forward Together” भन्ने मूल विषयमा केन्द्रित कार्यक्रममार्फत एलजीले क्षेत्रविशेष गृह समाधानहरू, एआई–समर्थित प्रविधि तथा उपभोक्ताको जीवनशैलीअनुसार तयार पारिएका उत्पादनहरू प्रदर्शन गरेको हो।
एलजीले विशेषगरी एशियाली बजारको आवश्यकतालाई ध्यानमा राख्दै तयार पारिएका नयाँ पुस्ताका लॉन्ड्री समाधानहरू सार्वजनिक गरेको छ। यसअन्तर्गत २५–इन्चको नयाँ WashTower™ मोडेल, टप–लोड वाशरमा AI Direct Drive™, TurboWash™ 3D, तथा WashCombo™ जस्ता प्रविधि समेटिएका छन्। कम्पनीका अनुसार यी उत्पादनहरू ठाउँको बचत, ऊर्जा दक्षता र दैनिक प्रयोगमा सहजताका लागि डिजाइन गरिएका हुन्।
किचन उपकरणतर्फ पनि एलजीले क्षेत्रानुकूल नयाँ रेफ्रिजरेटर, डिशवाशर तथा बिल्ट–इन किचन लाइनअप प्रस्तुत गरेको छ। Fit & Max डिजाइन, Zero Clearance Hinge, उन्नत Ice Solution, QuadWash™ Pro र Dynamic Heat Dry+ जस्ता फिचरहरू एशियाली उपभोक्ताको जीवनशैलीसँग मेल खाने गरी विकास गरिएको कम्पनीको दाबी छ।
दक्षिण–पूर्व एशियाका बजारका लागि ओभन, कुकटप र हुड समावेश भएको नयाँ बिल्ट–इन किचन लाइनअप पनि सार्वजनिक गरिएको छ। यसको मुख्य आकर्षणका रूपमा Camera Oven प्रस्तुत गरिएको छ, जसले खाना पहिचान गरी उचित कुकिङ मोड सिफारिस गर्ने सुविधा प्रदान गर्छ।
कार्यक्रममा एलजीले पहिलो पटक लाइभ कमर्स सेसन समेत सञ्चालन गरेको छ। साथै, एशियाका विभिन्न आवास शैली झल्काउने तीन प्रदर्शनी क्षेत्र निर्माण गरी AI Home Vision लाई व्यवहारिक रूपमा देखाइएको थियो।
एलजीका AI Home Hub र ThinQ ON™ मा आधारित उपकरण तथा IoT डिभाइसहरू आपसमा जोडिएर सहज र समन्वित गृह अनुभव दिने कम्पनीको भनाइ छ। ThinQ ON प्रारम्भिक बजारमा सार्वजनिक भइसकेको र छिट्टै अस्ट्रेलिया तथा थाइल्याण्ड हुँदै एशियाका अन्य मुलुकमा विस्तार गरिने बताइएको छ।
एलजीले LG Subscribe सेवा पनि मलेसिया, थाइल्याण्ड, ताइवान, सिङ्गापुर र भियतनामजस्ता प्रमुख शहरी बजारमा विस्तार गरिरहेको जनाएको छ। यसले उपभोक्तालाई लचिलो सब्स्क्रिप्सन मोडेलमा गृह उपकरण तथा सेवा उपलब्ध गराउनेछ।
एलजी इलेक्ट्रोनिक्स एशिया–प्यासिफिकका क्षेत्रीय प्रमुख जेसेउङ किमले एशियालाई कम्पनीको लागि अत्यन्तै महत्वपूर्ण र गतिशील बजार भन्दै स्थानीय जीवनशैलीसँग मेल खाने एआई–समर्थित गृह समाधानहरू अगाडि बढाइरहेको जनाए।


