काठमाडौं । प्युठान, गौमुखी गाउँपालिका-५ ठुलाबेसीस्थित सडकमा लु. प्र. ०१-००१ च ३५०२ नम्बरको बलेरो जिप अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा जिपमा सवार गुल्मी मदाने गाउँपालिका-१ बस्ने लक्ष्मण खत्रीको छोरा १२ वर्षीय सुजन खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुर, कटारी नगरपालिका-५ खांडीखोपस्थित खेतमा ना.५ त १९७६ नम्बरको ट्याक्टरले किचेर चालक सोही नगरपालिका-५ सिसाघारी सानोअड्डा बस्ने ४४ वर्षीय भक्त बहादुर जोशीको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
बारा, कलैया उपमहानगरपालिका-२४ श्रीपुर बेलवाडीस्थित सडकमा प्र.०२-०३-०१८ प ३६९५ नम्बरको मोटरसाइकलाई प्रदेश २-०३-०१ त २६७६ नम्बरको ट्याक्टरले सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक निजगढ नगरपालिका-९ ठाडोलाईन बस्ने ३६ वर्षीय मिलन मैनालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी बारा, कलैया उपमहानगरपालिका-१२ कटेङ्गरस्थित सडकमा ना. १ ह ६६९० नम्बरको अटो सोमबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१० मटिअर्वा बस्ने ५५ वर्षीय हिरालाल साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिराहा, गोलबजार गाउँपालिका-४ गोलचोकस्थित सडकमा बागमती प्रदेश ०२-००४ प ५६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हँदा मोटरसाइकलमा सवार गोलबजार नगरपालिका-१० धर्मपुर बस्ने २३ वर्षीय राहुल गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वर्धमान अस्पताल गोलबजारमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


