काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि कानुनी प्रक्रियामा जानेदेखि सरकारविरुद्धमा सडक प्रदर्शन गर्ने भएको छ ।
आइतबार साँझ सकिएको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्षमा पुगेको हो । संसद् पुनर्स्थापनाका लागि नेकपा एमाले अदालत जाने नेताहरूले जनाएका छन् ।
सचिवालय बैठकपछि ‘प्रतिनिधि सभा विघटन असंवैधानिक भएको ठहर गर्दै हामी न्याय माग्न अदालत जान्छौ’, उपमहासचिव प्रदीप ज्ञवालीले भने । साथै आगामी २९ देखि ३१ गतेसम्म केन्द्रीय कमिटी बैठक लगत्तै सरकारविरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।
उपमहासचिव ज्ञवालीका अनुसार एमालेले केन्द्रीय कमिटी बैठक लगत्तैदेखि सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध सडक आन्दोलन सुरु हुने छ । यद्यपि आन्दोलनको माेडालिटी तय भई नसकेको ज्ञवालीले जनाए ।


