काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा सहिद भएका परिवारहरूका लागि राजधानीमा बस्दा लागेको खर्च ब्यहोर्ने निर्णय गरेको छ।
आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यसबारे निर्णय गरेको जानकारी गराएकी हुन्। यसका साथै, मृतक सहिदका शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्याउन चाहनेलाई सवारी साधनको व्यवस्था पनि गर्ने निर्णय भएको उनले जानकारी गराइन् ।
‘अहिले मृतक सहिदका परिवारहरु काठमाडौं उपत्यकामै रहेका छन्। उनीहरु बसेको, उठेको, खाएको त्यो खर्च हेरिदिने,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘ सहादत प्राप्त गरेका शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्याउन कसैले चाहन्छ भने सवारीको पनि व्यवस्था गरिदिने आदि निर्णय भएको छ।’
त्यस्तै, प्रदर्शनका क्रममा घाइते भएकाहरू अपांगको परिभाषाभित्र परेको खण्डमा पछिसम्म उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको उनले जनाइन्।
‘पछिसम्म अपांगको परिभाषाभित्र परेछन् भने उपचारको सुविधाको व्यवस्था गर्ने भनेर यति हामीले गरेका छौं,’ उनले जनाइन्।


