काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनर्विचार गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार साँझ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको विरोध भइरहेको बेलामा मानवअधिकार आयोगले पनि ध्यानाकर्षण जनाउँदै नियमन र व्यवस्थापनका लागि वैकल्पिक उपाय अवलम्बन गर्न भनेको छ ।
आयोगको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘…आमनागरिकको जीवनको अभिन्न अङ्ग बनिसकेको सामाजिक सञ्जाल बन्द गर्दा आमनागरिकमा पर्न सक्ने प्रभावको आकलन गर्दै सामाजिक सञ्जाल बन्द गर्न भनी सरकारले गरेको निर्णयमाथि पुनर्विचार गर्न तथा सामाजिक सञ्जालहरू नियमन र व्यवस्थापनका लागि वैकल्पिक उपाय अवलम्बन गरी नेपालको संविधान तथा अन्तर्राष्ट्रिय कानुनमा व्यवस्था भएका अधिकारहरूको उपभोगको सुनिश्चितता गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ।’
नियमन र व्यवस्थित गर्ने नाममा लामो समयदेखि सञ्चालनमा रहेका र आमनेपालीको अभिव्यक्ति र सञ्चारको जीवनशैली बनिसकेको सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णयबाट आमउपभोक्तामा असर पर्न गएको आयोगको भनाइ छ । मन्त्रालयको निर्णयले मौलिक हकहरूको सङ्कुचन हुने आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बताएका छन् ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदमको अभिव्यक्ति स्वतन्त्रताका अभियन्ता तथा राजनीतिक दलहरूले विरोध गरेका छन् । नेपाल पत्रकार महासंघले पनि निर्णयप्रति विरोध जनाएको छ । अभिव्यक्ति स्वतन्त्रताका अभियन्ता तारानाथ दाहालले सरकारको निर्णय वैधानिक कानुनको आधारमा नरहेकाले गलत रहेको बताए ।
सरकारले सूचीकरण हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाएको छ । जसमा Facebook, Instagram, YouTube, X, LinkedIn, Snapchat, Reddit, Pinterest, Tumblr, Mastodon, Rumble, MeWe, VK, Threads, Messenger, WhatsApp, Signal, WeChat, Line, IMO, Zalo, Discord, Quora, Clubhouse, Soul र Hamro Patro छन् ।
नेपालमा हालसम्म पाँचवटा सामाजिक सञ्जाल मात्र सूचीकृत छन् । भाइबर, टिकटक, निम्बुज, वीटक र पोपोलाइभ सूचीकृत छन् ।



