काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लक्षित टिप्पणी गर्दै पार्टीभित्र कतिपय विषयहरू अनावश्यक संवेदनशील बनाइएको जनाएका छन्।
भण्डारीको पार्टी सदस्यतालाई लिएर अहिले एमालेभित्र विवाद सृजना भएको छ। अध्यक्ष ओलीले भण्डारीको नविकरण भएको पार्टी सदस्यता रोकेपछि कतिपय नेताहरूले त्यसको विरोध गरेका छन्।
त्यही विषयलक्षित गर्दै ओलीले आजदेखि गोदावरीमा सुरु भएको दोस्रो विधान महाधिवेशनमा पार्टीभित्र अनावश्यक विषयलाई संवेदनशील बनाइएको बताएका हुन्।
‘पार्टीमा कतिपय विषयहरू अनावश्यकरुपमा संवेदनशीन बनाइएका छन्। बनेका छन्’, उनले भने।
पार्टी सदस्यता रोकिएको विषय विधान महाधिवेशनमा उठाउने तयारी विद्यापक्षका नेताहरूले गरेका छन्। तर प्रष्टरुपमा ओली त्यस विषयमा यस महाधिवेशनमा छलफल नहुने जनाएका छन्।
उनले विधानसँग संवन्धित विषयमात्र यस दोस्रो विधान महाधिवेशनमा हुने जानकारी गराए। ‘ती संवेदनशील बनाइएका कुराहरू विधान संशोधनसँग सम्बन्धित छैनन्। विधान महाधिवेशनसँग सम्बन्धित छैनन्। ती प्रश्नहरू अन्यत्रै कमिटीगत छलफलका विषय हुन्। यहाँ छलफल हुँदैन’, ओलीले भने।


