काठमाडौं । प्रभु बैंकले अन्तर्राष्ट्रिय प्रतिष्ठित Euromoney Excellence Award 2025 मा “Nepal’s Best Digital Bank for SMEs” उपाधि प्राप्त गरेको छ।
बैंकले साना तथा मध्यम उद्यमी (SMEs) हरूलाई लक्षित गर्दै डिजिटल बैंकिङ प्रवर्द्धनमा गरेको योगदानलाई उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको हो। लण्डनस्थित Euromoney Limited ले प्रदान गर्ने यो पुरस्कारलाई विश्वकै प्रतिष्ठित बैंकिङ सम्मानमध्ये एक मानिन्छ। प्रभु बैंकले उद्यमीलाई सहज वित्तीय पहुँच, डिजिटल समाधान, आधुनिक प्रविधिको उपयोग र अनलाइन सेवामार्फत व्यवसायिक वातावरण सुदृढ पार्न गरेको प्रयासका कारण यो पुरस्कार जित्न सफल भएको बैंकले जनाएको छ।
प्रभु बैंकले विगतका वर्षहरूमा पनि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल भएको थियो। यसअघि 2021 मा The Banker पत्रिकाले बैंकलाई ‘Bank of the Year Nepal’ उपाधि प्रदान गरेको थियो। बैंकका अनुसार यस वर्ष प्राप्त Euromoney Excellence Award ले प्रभु बैंकलाई अझ प्रभावकारी ढंगले डिजिटल सेवा विस्तार गर्न प्रेरणा दिनेछ। विशेषगरी साना तथा मध्यम उद्यमीहरूका लागि डिजिटल कर्जा सुविधा, अनलाइन भुक्तानी, डिजिटल खाताको सहज पहुँच र SMEs का लागि विशेष गरी डिजाइन गरिएका डिजिटल उत्पादनहरू बैंकका प्रमुख उपलब्धिहरू मानिएका छन्। बैंकका उच्च पदाधिकारीहरूले यस उपलब्धिलाई नेपालको डिजिटल बैंकिङ क्षेत्रमा आएको ठूलो फड्कोका रूपमा लिएका छन्। उनीहरूको भनाइमा, प्रभु बैंकले अझ नवीनतम प्रविधि र ग्राहकमैत्री सेवामार्फत डिजिटल बैंकिङको पहुँच ग्रामीण तथा सुदूर क्षेत्रसम्म विस्तार गर्ने लक्ष्य राखेको छ।


