दैलेख । दैलेखको जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणको काम अहिले अन्तिम चरणमा पुगेको छ।
सन् २०१९ मा नेपाल र चीनबीच भएको सम्झौताअनुसार चाइनाको जियोलोजिकल सर्भे कम्पनीले दैलेखको भैरवी गाउँपालिका-१ को जलजले क्षेत्रमा पेट्रोलियम र प्राकृतिक ग्यासको अन्वेषण गरिरहेको छ।
के हो हालको अवस्था?
अहिले पेट्रोलियम अन्वेषणका क्रममा खनिएको ड्रिलिङ क्षेत्र सुनसान छ। सशस्त्र प्रहरीले त्यसको सुरक्षा गरिरहेका छन्। चीनको प्राविधिक टोलीले पहिलो ड्रिलिङबाट सङ्कलन गरिएका नमुनाहरूको विस्तृत विश्लेषण गर्दैछ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् तथा पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलका अनुसार, चीनबाट सन् २०२५ को डिसेम्बरसम्ममा विस्तृत प्रतिवेदन प्राप्त हुनेछ। त्यसपछि मात्र उत्खनन र व्यावसायिक उत्पादनको काम अघि बढ्नेछ।
कति छ भण्डारण ?
पहिलो ड्रिलिङ (४०१३ मिटर गहिराइ) को प्रारम्भिक नतिजाअनुसार १.१२ अर्ब घनमिटर मिथेन ग्यासको भण्डारण पुष्टि भएको छ। यो चारवटा सम्भावित कुवामध्ये पहिलो कुवाको मात्रै नतिजा हो।
सम्पूर्ण जलजले क्षेत्रमा ४३० अर्ब घनमिटर ग्यास हुन सक्ने अनुमान गरिएको छ। यसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकता पूरा गर्न सक्ने सम्भावना रहेको छ।
व्यावसायिक उत्पादनको तयारी गर्दै
नेपालमै पेट्रोलियम पदार्थको ठूलो भण्डारण भेटिएपछि त्यसको व्यावसायिक उत्पादनका लागि सरकारले तयारी सुरु गरिसकेको छ।
नेपाल आयल निगमका निर्देशक विनितमणी उपाध्यायको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ। यो समितिले प्राकृतिक ग्यासको व्यावसायिक उपयोगिता, आवश्यक पूर्वाधार र लागतका बारेमा अध्ययन गरिरहेको छ।
समितिले दैलेखको पेट्रोलियम अन्वेषण क्षेत्रको स्थलगत अवलोकन पनि गरिसकेको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार, यो समितिले दिएको अध्ययन प्रतिवेदनका आधारमा सरकारले उत्पादनका लागि थप कदम चाल्नेछ।
यस्ताे छ परियोजनाको इतिहास
दैलेखमा पेट्रोलियम पदार्थको सम्भावना पहिलेदेखि नै भए पनि २०३६ सालदेखि वैज्ञानिक अन्वेषणको प्रयास सुरु भएको हो।
२०७५ माघमा नेपाल र चीनबीच पेट्रोलियम अन्वेषणका लागि सम्झौता भयो।यो परियोजना चीन सरकारको पूर्ण अनुदानमा चलेको हो। यसको प्रारम्भिक लागत अनुमानित २.५ अर्ब रुपैयाँ थियो। यो नेपालमा अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक रूपमा सम्पन्न गरिएको अन्वेषण हो।
यो परियोजना सफल भएमा दैलेखका साथै सिंगो नेपालका लागि रोजगारीका अवसर बढ्ने र उद्योग-मैत्री वातावरण बन्ने अपेक्षा गरिएको छ।


