– खडग पाण्डे
अस्पतालको शल्यकक्षबाहिर र आर्यघाट वरिपरि एक किसिमको मौनता हुन्छ। तर त्यो मौनता केवल बाहिरी हो। भित्री मनमा भने असंख्य कोलाहल उर्लिरहेका हुन्छन्। शल्यकक्षको ढोकाबाहिर प्रियजन जीवन-मरणसँग संघर्ष गरिरहेको पीडा हुन्छ; आर्यघाटमा भने प्रियलाई अन्तिम पटक विदा गर्ने असह्य क्षण। अस्पातलको गन्धले मृत्यु सम्झाउँछ। चिताको धुवाँले शून्यताको छायाँ देखाउँछ। यी दुवै ठाउँमा मौनताभित्र लुकेको दुःखको अथाह सागर हुन्छ- जहाँ मौनता मौन हुँदैन, त्यो आवेग र संवेगको सुनामी हुन्छ।
आज त्यही मौनता, करुणा, आवेग र संवेग काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान क्षेत्रमा पनि देखिन्छ। यहाँ न शल्यकक्षको रिपोर्टको प्रतिक्षा छ, न चिताको धुवाँको दृश्य। तर वायुमण्डल यत्तिकै गहिरो छ- एकैसाथ आशा र बिछोडको आँसु मिसिएको।
हरेक दिन हजारौं परिवार यहीँबाट आफ्ना छोराछोरी, दाजुभाइ, दिदीबहिनी, जीवनसाथी वा अभिभावकलाई विदेश पठाउँछन्। कोही उज्यालो भविष्यको खोजमा, कोही घरको ऋण तिर्न, कोही नानीहरूलाई पढाउन, कोही बृध्द आमा बा को औषधी खर्चको जोहो गर्न, कसैले बुढेसकालमा सहारा खोज्न। हात हल्लाउने, आँसु पुछ्ने, चुपचाप टोलाउने जस्ता दृश्यहरूले विमानस्थलका प्रत्येक इँटा र भित्तालाई भिजाइरहेका हुन्छन।
त्रिभुवन विमानस्थल केवल यात्राको सुरुवात गर्ने स्थान मात्र होइन; यो हजारौं मुटु चुँडिने र हजारौं सपना बोकिने स्थल बनेको छ। यहाँ बिछोडको पीडा पनि छ, भविष्यको उज्यालो सपना पनि। त्यसैले यो विमानस्थल आशा र आशुको संगम हो- जहाँ आँखा रसाउँछन्, तर भविष्यको उज्यालो किरण पनि टल्कन्छ।
यदि तपाईंमा अलिकति संवेदना छ भने, विमानस्थलको दृश्यले तपाईंको हृदय नरम पार्छ। यहाँको बिछोडका क्षणहरूले मानिसलाई भित्रसम्म भत्काइदिन्छ।
स–साना नानीहरू बाबुहरु, आमाको काखमा सुतेका वा बाबाको हात समातेका अबोध कलीला हातहरु जब बलजफ्ती छुट्याएर गन्तब्यतिर जानु पर्ने हुन्छ, त्यो दृश्य असह्य हुन्छ। ती स-साना नानीबाबुहरुले अभिवावक मात्रै छुट्दैनन तीनिहरुका लाड, प्यार, ममता र सुरक्षा समेत चुडिन्छन। आँखा रसाउँदै, हात हल्लाउँदै “बाइ–बाइ” भन्न खोज्ने ती नानीहरूको सुक्क स्वरले आकाशसमेत भत्कियो जस्तो लाग्दछ।
कसैको श्रीमान विदेश हिँडिरहेका छन्- श्रीमती हिक्क गर्दै आँसु पुछ्दै, आँखाभित्रै आँसु लुकाउने असफल कोशिस गर्दैछिन। कसैको श्रीमती हिंडिरहेकी छन्, श्रीमानको भित्र भित्रै भक्कानिदै बाहिर नक्कली मुस्कान देखाउने असफल प्रयास देख्न सकिन्छ। जीवनभर संगै बाच्ने र संगै मर्ने प्रण गरेरे जोडीएको जोडी, आफ्नो प्रियसी र बचेराहरुलाई एक्लो पारी बिदेश भासिनुको दर्दनाक पिडा। पिठ्युँ फर्काएर हिँड्नु केवल यात्राको सुरुवात होइन, त्यो जीवनकै एउटा करुण अध्याय हो।
बेसहारा वृद्ध बाबुआमा आफ्नो सन्तानलाई धितमरुन्जेल हेरेर विदा गरिरहेका हुन्छन्। कोलाहलको भीडभित्र एउटा सानो झ्यालबाट चिहाउँदै, प्रियजन बोर्डिङ कक्षबाट हराउँदै गएको दृश्य हेरिरहेका। एकछिनमै हजारौंको भिडमा उनी एक्लो हुन्छन्। त्यो बिछोडको पीडा शब्दमा होइन, आँखाबाट बग्ने आँसुमा पोखिन्छ। तर विडम्बना के छ भने, यी सबै पीडा बोकेर विदेशिएको छोराछोरीले कमाएको पसिनाको पैसा नेताहरूको भ्रष्टाचारमा हराउँछ।
“छिट्टै फर्केर आउँछु” भन्ने आश्वासन प्रायः धोका हुन्छ भन्ने उनीहरूलाई थाहा छ। फर्किन्छु भन्ने वाचा कति यथार्थ हुन्छ, कति भ्रम? त्यो अनिश्चितता हरेक आमाबाबुको छातीमा असह्य गाँठो बनेर बस्छ। अझ फर्किदा बाकसमा पो फर्किने हो कि भन्ने कल्पनाले समेत मुटु हल्लाउँछ।
सबैभन्दा ठूलो भय त- “फर्केर आउँदा बाबुआमा जीवित हुन्छन् कि हुँदैनन्?” भन्ने अनुत्तरित प्रश्न हो। यही प्रश्नले बिछोडलाई अझै असह्य बनाइदिन्छ। बुढ्यौली आमा बाबाको अपेक्षा, दु:ख शुखको आधार, बुढेसकालको साहरा बनेको जीवनचक्रको त्यो शिलशिला बिचमै टुड्दा कसको मन रुदैन होला। फर्केर आउँदा आमा वा बा भन्ने शब्दनै हराउने हो कि भन्ने चिन्ता।
त्रिभुवन विमानस्थलको प्रस्थान क्षेत्र केवल यात्राको ढोका होइन; यो बिछोड, पीडा, भय र आशाको संगम हो। यहाँ उभिने यात्रु केवल विमान चढ्ने होइनन्, जीवनको एउटा अपूर्ण अध्याय टाढा फ्याँक्दै अनिश्चित भविष्यतर्फ हिंडिरहेका हुन्छन्।
एउटा नेपाली देशमा जन्मिन्छ, हुर्किन्छ, पढ्छ। तर जब आफ्नै देशमै श्रमको मूल्य र ज्ञानको सम्मान हुँदैन, तब विदेशिनु विकल्प होइन, बाध्यता बन्छ। यो केवल रोजगारीको समस्या होइन, असंख्य नेपाली परिवारहरूको करुण कथा हो। यो आफ्नै माटोसँगको बिछोड हो, आफ्नै जीवनसँगको सम्झौता हो, आफ्ना सपनालाई आँसुमा बोक्दै अनिश्चित भविष्यतर्फ हिंड्नु हो।
तर अब प्रश्न छ- कति समय यसरी बाँच्ने? कति समय आफ्ना सपनालाई परदेशलाई रंगिन बनाउन आफुलाई समर्पित गर्ने? कति समय आफ्ना आँगन सुनसान पार्ने?
नेपाल प्राकृतिक सम्पदाले धनी छ, संस्कृतिले गौरवशाली छ, श्रमशील जनशक्तिले परिपूर्ण छ। तर विडम्बना- त्यही मुलुकका युवाहरू रोजगारी नपाएर विदेशिन बाध्य छन्। यसको मूल कारण नेपालको राजनीति हो- जहाँ नेताहरूको भ्रष्टाचार, अस्थिरता र स्वार्थले युवाको भविष्य अन्धकार बनाइदिएको छ।
गाउँहरू सुनसान छन्, सहरी बजार वृद्धहरुको बेदनाले रोईरहेको छ। आफ्नो संन्तान आउने बाटो हेर्दा हेर्दै आँफै अस्ताई रहेका छन। युवाको ऊर्जा, जसले नेपाललाई बनाउन सक्थ्यो, त्यो विदेशमा जलिरहेको छ। राजनीतिज्ञहरूको “सुखी नेपाली, समृद्ध नेपाल” को नारा व्यवहारमा “बेरोजगार नेपाली, समृद्ध नेता” बनेको छ। यो केवल व्यक्तिगत पीडा होइन, मुलुकको राजनीतिक असफलताको प्रमाण हो।
आज देशका सडकमा बेरोजगार युवाहरू र विमानस्थलका आँसु दुवैका जिम्मेवार भ्रष्ट नेताहरू हुन्। जबसम्म नेताहरूको स्वार्थी राजनीति र भ्रष्टाचारमा परिवर्तन आउँदैन, तबसम्म युवाहरू आफ्नो भविष्य परदेशमै खोज्न बाध्य हुनेछन्। व्यवस्था फेरियो तर अवस्था फेरिएन; सपना अझै अधुरै छ।
विमानस्थलको बिछोड र बियोगको ढोकाको छेउमै अर्को ढोका छ- भिआईपी प्रस्थान कक्ष। यही पीडित जनताले भोट दिएर जिताएका, कर तिरेर पालिएका नेताहरू करोडौंको गाडी, दर्जनौं सुरक्षाकर्मी र सयौं कार्यकर्तासहित विदेश यात्रा गर्न हिँडिरहेका हुन्छन्। एउटै विमानस्थलमा कर्म गर्नेहरूको आँसु र ठग्नेहरूको विलाशिता बीचको ठाडो अन्तर। उनीहरू मनमनै भन्छन्- “देखिस तेरो श्रमको मूल्य? देखिस तेरो भोटको शक्ति? तैले पठाएको रेमिट्यान्सको उपभोग।”
अब प्रश्न उठ्छ—के नेपाली जनता सधैं यस्तै पीडा बोकेर बाँचिरहने? उत्तर हो- होईन। अब प्रश्न गर्नु पर्दछ। हामीलाई यो अवस्थामा कसले र कसरी पुर्यायो? आफ्नो शक्ति र सामर्थ्यलाई उपयोग गर्नु पर्दछ। परिवर्तन सम्भव छ, तर त्यो नेताबाट होइन, जनताबाट सुरु हुन्छ। अब जनताले आँसु पुछ्नुपर्छ। अब मत बदल्नुपर्छ। अब स्पष्ट भन्नुपर्छ- “हामीलाई सपना होइन, सत्य चाहिन्छ। भाषण होइन, काम चाहिन्छ। भ्रष्ट नेता होइन, इमान्दार नेतृत्व चाहिन्छ।” नेपाललाई कसैले आएर बचाउने होइन। नेपाललाई हामी आफैंले बचाउनुपर्छ। त्यो दिन मात्र देशका आँगनमा फेरि बालबालिकाको हाँसो गुन्जिनेछ, वृद्ध–वृद्धाको अनुहारमा शान्ति छाउनेछ, प्रेम–प्रमिकाको अंगालोमा दूरी रहने छैन।


