टोपराज शर्मा
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता र सांसदहरु भैरहवा आइपुगेका छन् । पार्टी उपसभापतिद्वय डिपी अर्याल, डा.स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झासहित अधिकांश सांसदहरु मंगलबार साँझ नै भैरहवा आइपुगेका छन् । १९ मध्ये बाँकी सांसदहरु आज बिहान आउँदैछन् ।
रास्वपा सांसदहरुले सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई बिहान भेट्ने र दिउँसो एक बजे संसदीय दलको बैठक बस्ने कार्यक्रम तय भएको छ ।
रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार पार्टीका सांसदहरु आज र भोलि दुई दिन भैरहवा एवं रुपन्देही क्षेत्र नं ३ मा रहनेछन् । ‘संसदीय दलको बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीले उठाएका भिजिट भिसा प्रकरण लगायत मुद्दा, त्यसमा सरकारले विपक्षीको माग सम्बोधन नगरी संख्याको आधारमा जबरजस्ती संसद चलाएको, संसदमा पेश भएका विभिन्न विधेयक, भ्रष्टाचारका मुद्दामा पार्टीले लिएका अडान आदि विषयमा समीक्षा गरी आगामी रणनीति तय हुनेछ’ परियारले भने ।
यस बैठकमा पार्टीले रुपन्देही क्षेत्रनम्बर ३ को उपनिर्वाचनको उम्मेदवारबारे भने छलफल नहुने परियारले बताए । पार्टीले रुपन्देही क्षेत्रनम्बर ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिबाट आवेदन माग गरिसकेकाले आवेदन दिने म्याद पूरा भइसकेपछि मात्रै उम्मेदवारबारे छलफल हुने उनको भनाइ छ ।
रुपन्देही क्षेत्रनम्बर ३ का आगामी कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ । गत आम निर्वाचनमा रास्वपा यो क्षेत्रमा समानुपातिकतर्फ १४ हजार बढी मतसहित तेस्रो ठूलो दल बनेको थियो ।
त्यो बेला संगठन निर्माण गरिनसकेको रास्वपाले अहिले वडा तहसम्म संगठन निर्माण गरिरहेको छ । रुपन्देही क्षेत्रनम्बर ३ का ३६ वटा वडामै हस्ताक्षर अभियान सञ्चालन गरेको पार्टीले यो क्षेत्रमा मात्रै करिब २० हजार हस्ताक्षर संकलन गरिसकेको क्षेत्रीय सभापति मधु अर्यालले बताए । online khabar


