–लोकनारायण सुबेदी
नेल्सन मण्डेलाले माक्र्सबादप्रति आफ्नो विमति नरहेको र त्यो प्रेरणाको स्रोत भएको कुरा स्वीकारेका थिए नै । अनि अन्ततः कम्युनिस्ट बनेर उपनिवेशबाद, नश्लभेद, रंगभेद र जातिभेद बिरोधी संघर्षलाई सही दिशा र अग्रगति दिन तत्पर र दृढनिश्चयी भएका हुन् भन्ने कुरा स्वयं उनले स्वीकारेको कुरा हो । उनले दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीका नेता तथा महासचिव क्रिश हनीलाई दक्षिण अफ्रिकी मुक्ति आन्दोलनका एक सर्बोच्च नेता भनेर सम्मान गरेका थिए ।
आज १८ जुलाईका दिन बिश्वका महान् रंगभेद बिरोधी, उपनिवेशवाद बिरोधी नेता नेल्सन मण्डेलाको १०७औं जन्म दिन हो । उपनिबेशबाद, नश्लभेद, रंगभेद र जातिभेद बिरोधी संघर्षमा उनले पु¥याएको अतुलनीय योगदान नै उनलाई बिश्वले सम्झने र सम्मान गर्ने सबैभन्दा महत्वपूर्ण कारण हो । त्यसका लागि उनले अल्पसंख्यक गोराहरुको क्रूर दमनकारी र बिभेदकारी शासन सत्ताको बिरुद्ध संघर्ष गर्दा अबिच्छिन्नरुपमा २७ बर्षको कठोर काराबास जीवन बिताउनु परेको थियो । वास्तवमा नेल्सन मण्डेलाको यही दृढ निश्चयी र प्रेरणास्पद संघर्षमय जीवनगाथाले गर्दा नै आज पनि बिश्वमा उनी स्मरणीय र आदरणीय छन् ।
यसका अतिरिक्त रंगभेद र जातिभेदबाट अफ्रिकालाई मुक्त गराउने ती महान ब्यक्तित्वले चाहेको भए आजीवन दक्षिण अफ्रिकाको शासन सत्तामा जमेर बस्न सक्ने एक लोकप्रिय नेता थिए । तर उनले त्यसबाट फाइदा उठाउने सत्तामोह बिल्कुलै देखाएनन् । दक्षिण अफ्रिकाको इतिहासमा काला जातिको पहिलो राष्ट्रपति निर्वाचित भएको एक कार्यकालपछि नै उनी सत्ता केन्द्रबाट बाहिरिए र त्यसपछि सक्रिय राजनीतिमा आफुलाई अगाडि सारेनन् । उमेरका कारणले समेत उनी पछि सरेर नया पुस्तालाई सहज किसिमले सत्ता हस्तान्तरण गरे । जुन आजको सत्तामुखी बिश्व राजनीतिमा अत्यन्तै सराहनीय र प्रसंशनीय मात्रै होइन अत्यन्तै प्रेरणास्पद र अनुकरणीय दुर्लभ कुरा पनि हो ।
अझ अर्को तेश्रो महत्वपूर्ण कुरा उनले सत्ता परिवर्तन पछि बद्लाको भावनाले कुनै काम गरेनन् र त्यस्ता कुनै कदमहरु बिल्कुलै चालेनन् । उनको भनाइ एकदमै स्पष्ट थियो कि रंगभेद तथा जातिभेद बिरोधी उनको संघर्ष केवल काला जातिका लागि बिजयको कुरा मात्र थिएन, जातिभेदको अन्त्यका लागि त्यो गोरा अल्पसंख्यक जातिका लागि पनि थियो र हो । उनले लडेको लडाई कुनै जाति बिशेषको मुक्तिको लागि मात्र थिएन मानब जाति बीच फैलिएको फैलाइएको र अभ्यस्त जस्तै तुल्याइएको बिभेद, असमानता र जातिय उत्पीडन तथा असुरक्षाका बिरुद्ध थियो । त्यसैले त्यो सबै जातिको समान हक अधिकार, समुन्नति र सम्मानका निमित्त थियो र हो भन्ने कुरा उनले एकदमै स्पष्ट पारेका थिए ।
हुन पनि नेल्सन मण्डेलाले माक्र्सबादप्रति आफ्नो बिमति नरहेको र त्यो प्रेरणाको श्रोत भएको करा स्वीकारेका थिए नै । अनि अन्तत कम्युनिष्ट बनेर उनी संघर्षलाई सही दिशा र अग्रगति दिन तत्पर भएको हन् भन्ने कुरा स्वयं उनले स्वीकारेको र कसैले बिमति जनाएको छैन र थिएन । हुन पनि अफ्रिकी नेशलनल काग्रेस(एएनसी)का मण्डेलासँगैका सदस्य दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीका महासचिव त्रिश हनी मण्डेला जस्तै जनप्रिय र अत्यन्तै संघर्षशील ब्यक्तित्व थिए । उनको त्यहाँका दक्षिणपन्थी साम्राज्यबादका दलालहरुले षडयन्त्रमूलक किसिमले हत्या गरे । मण्डेलाले कमरेड क्रिश हनीलाई उच्च स्तरका मुक्ति योद्धा भनेर सम्मान ब्यक्त गरेका थिए । यसरी क्रान्तिकारी सहयोद्धाहरुका साथ बिसौं शताब्दीको उत्तराध्र्ददेखिको जातिभेद र रंगभेद बिरोधी संघर्षमा दृढ निश्चयकासाथ दाया बायाँ नगरी लागेका नेल्सन मण्डेलाले स्वाधीनता र स्वतन्त्रतताको त्यो लडाईको सफल नेतृत्व गरेर बिजय हासिल गरे । उनको त्यो बिजय केवल दक्षिण अफ्रिकाको मात्र बिजय थिएन । त्यसै कारणले समेत बिश्वभरीका सरकार र राष्ट्र प्रमुख या तिनका प्रतिनिधिहरु नेल्सन मण्डेलाको ६ डिसेम्बर २०१३ मा देहाबसान हुँदा उनलाई अन्तिम श्रद्धाञ्जली दिन दक्षिण अफ्रिका पुगेका थिए र भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्न त्यस श्रद्धाञ्जली सभामा प्रत्यक्ष सहभागी बनेका थिए ।
तर आज दक्षिण अफ्रिकामा दिबंगत मण्डेला जस्तो अर्को कुनै ब्यक्तित्वको निर्माण भएको छैन । यद्यपि दक्षिण अफ्रिका बिश्वको बिकासशील अर्थतन्त्रमा अगाडि बढेको राष्ट्रको रुपमा खडा ‘ब्रिक्स’(ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको बिश्व आर्थिक संगठन)मा पनि आवद्ध र सक्रिय छ । तर अझै पनि गरीबी, अभाव, बेरोजगारी, पछिल्लो बिश्व महामारी कोरोना र पहिलेदेखिकै एड्स जस्ता भयावह समस्याले त्यो देश निक्कै आक्रान्त रहँदै आएको छ । भ्रष्टाचार दक्षिण अफ्रिकाको पनि एउटा ठूलो समस्याकै रुपमा रहेको छ । यी समस्याहरुबाट मुक्त हुने दिशा र बाटोमा तीब्र गतिमा अगाडि बढ्न नसकेसम्म दक्षिण अफ्रिकाले नेल्सन मण्डेलाप्रति सार्थक सम्मान प्रकट गरेको र उनीबाट उचित प्रेरणा लिएको पनि ठहरिने छैन ।
अनि अग्रगामी राजनीतिक सुधार र परिवर्तन पछि पनि नेपाल लगायतका बिश्वका बिभिन्न देशहरुमा जुन किसिमको घोर सत्ता लिप्सा, सिद्धान्तहीन, अपारदर्शी, अत्यन्तै भ्रष्ट र अपबित्र राजनीतिक साँठगाठ हुने गरेको र तुष्टीकरणको निहीत स्वार्थी राजनीति चल्ने चलाइने गरेको छ त्यसबाट बाहिर निस्कन नसकेसम्म नेल्सन मण्डेलाप्रति दर्शाएको आदर सम्मान र शब्द श्रद्धा केवल एउटा सस्तो पाखण्ड प्रदर्शन मात्र ठहरिने कुरालाई पनि आत्मसात गरिनै पर्दछ । अनि मात्र मण्डेला जस्ता साहसी, क्रान्तिकारी, दृढ निश्चयी र उच्च ब्यक्तित्वहरुको प्रसंशा गरेको, गुणगान गाएको र सम्मानको गरेको पनि सार्थकता हुन्छ । अन्यथा यो आफुलाई र अरुलाई पनि ठगठाग गर्ने कर्मकाण्डीय कुरा बाहेक कीमार्थ अरु केही प्रमाणित हुदैन । सदा सर्बदा स्मरणीय र अबिस्मरणीय बिश्व ब्यक्तित्व नेल्सन मण्डेलाको १०७औ जन्म जयन्तिका अवसरमा उनीप्रति उच्च सम्मानकासाथ हार्दिक एवं शतत नमन !


