काठमाडौं । सरकारले देशभरका बैंक, लघुवित्त र सहकारी संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयमातहतका सुरक्षा निकायहरुलाई परिपत्र गरेको छ ।
बैंकिङ कसुर, ठगी, खराब ऋणमा संलग्नले आफूले लिएको कर्जा तिर्नुको साटो उल्टै वित्तीय संस्थालाई नै धम्क्याएका घटना बाहिरिएपछि गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बैंक, लघुवित्त, सहकारीलगायत संस्थामाथि निशाना बनाएर आपराधिक गतिविधि हुनसक्नेप्रति सावधान रहन र कसैले कानुन हातमा लिएका कडाइका साथ कारबाही गर्न प्रशासन र प्रहरीलाई निर्देशन दिइएको बताए ।
प्रवक्ता बस्नेतले शुक्रबार साँझ सबै जिल्ला प्रशासन र नेपाल प्रहरीलाई यससम्बन्धी विषय समेटेर परिपत्र गरिएको बताए । ‘बैंक/वित्तीय संस्था तथा सहकारी संस्था लक्षित गरेर उत्शृङखल, अराजक र अवाञ्छित गतिविधि हुनसक्छ, त्यसप्रति सजग रहन र कसैले कानुन हातमा लिएको छ भने कारबाही गर्न निर्देशन दिइएको छ,’ प्रवक्ता बस्नेतले कान्तिपुरसँग भने, ‘अवाञ्छित गतिविधि गर्नकै लागि घुसपैठ हुनसक्नेप्रति पनि उच्च सतर्कता अपनाउन पनि भनेका छौं ।’
केही साताअघि व्यवसायी दुर्गा प्रसाईंले झापामा आयोजित सार्वजनिक कार्यक्रममै बैंक/वित्तीय संस्थाका सञ्चालक/कर्मचारीलाई कालोमोसो दल्न भन्दै ऋणीलाई उक्साएका थिए । उनको विवादास्पद र आपत्तिजनक अभिव्यक्तिपछि कानुन हातमा लिनसक्ने व्यक्ति तथा समूहमाथि प्रहरीले पनि निगरानी थालेको छ । प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जुनसुकै आवरणमा भए पनि कानुन हातमा लिने जोसुकैलाई कारबाही गरिने बताए । ‘कालोमोसो दल्न आह्वान गर्ने दुर्गा प्रसाईंको अभिव्यक्तिलाई प्रहरीले ‘नोटिस’ मा राखेर सम्भावित आपराधिक गतिविधि रोक्न सुक्ष्म निगरानी गरिएको प्रवक्ता पोखरेलले बताए ।


