काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले शनिबार राजीनामा दिँदैछन्।
संघीय मन्त्रीहरूले प्रधानमन्त्री निवास बालुवाटार पुगेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामापत्र बुझाउँदै छन् भने प्रदेशमन्त्रीले सम्बन्धित प्रदेश प्रमुखलाई राजीनामापत्र बुझाउने तयारी गरेका राप्रपा नेता हेमजंग गुरुङले देश सञ्चारलाई जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, विक्रम पाण्डे सहरी विकासमन्त्री, ध्रुवबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला र दीपकबहादुर सिंह ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री छन्।
प्रदेशतर्फ बागमतीमा ३, प्रदेश नम्बर एक, गण्डकी र लुम्बिनीमा एक-एक जना मन्त्री छन्। केन्द्रदेखि प्रदेशसम्मका सबै मन्त्री र राज्यमन्त्रीले आजै राजीनामापत्र बुझाउँदै छन्। पार्टीको तर्फबाट सरकारमा सहभागीता जनाएका मन्त्रीहरूले राजीनामा दिए पनि संवैधानिक पदमा आसिन व्यक्तिले भने राजीनामा दिनु नपर्ने कानुनी व्यवस्था छ।
बागमती प्रदेशका सभामुख राप्रपाका भुवन पाठकले राजीनामा दिनुपदैन। सभामुख नियुक्त भएपछि पार्टीको सक्रीय राजनीतिबाट अलग भएका कारण राजीनामा दिनु नपर्ने भएको हो।


