फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज शनिवार मनोनयन दर्ता गरिँदैछ । निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयन दर्ताको समय तोकिएको छ ।
मनोनयन दर्ताको पूर्व सन्ध्यामा शुक्रवार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत ८ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा समर्थन गर्ने निर्णय गरेका छन् । शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको हो ।
८ दलभित्र नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी छन् ।
नेकपा एमालेले पुस १० गतेको सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने बताउँदै आइरहेको थियो तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘दाहाल’ले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने बताउँदै आएका थिए ।


