पाल्पा । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेसम्म कुनै नयाँ समीकरण नबनेको बताएका छन्।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले शुक्रबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन्।
अहिलेकै गठबन्धन कायम गर्नेबारे प्रयास भइरहेको र राष्ट्रिय सहमतिमै राष्ट्रपतिको टुंगो लाग्ने दावी उनले गरे। उनले अन्तिम छलफल जारी रहेको बताए। ‘कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई कदर गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो‚’ उपप्रधानमन्त्री श्रेष्ठले भने‚ ‘राष्ट्रिय सहमति निर्माण गरेर राष्ट्रपतिको टुंगो लगाउने प्रयास भइरहेको छ।’ सत्ता पक्ष र प्रतिपक्षबीच अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै छलफल गरिरहनु भएको छ। शुक्रबार बेलुकासम्म निष्कर्ष पुग्ने श्रेष्ठले दावी गरे।राजनीतिमा केही जटिलता देखिएको उनले बताए। सत्ता गठबन्धनभित्र सहमतिको प्रयास भइरहेको तर निष्कर्षमा पुग्न नसकिरहेको उनले बताए।
नेकपा माओवादी केन्द्रका नेतासमेत श्रेष्ठले नेपाली जनताको आशाअनुसार समृद्धि हुन नसकेको बताए। अहिलेको सरकारले मुलुकको समृद्धि र सुशासन कायम गर्ने गरि काम गरिरहेको उनको भनाइ थियो।


