काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग छलफल सुरु गरेकी छन्।
साना सहकारी पीडित बचतकर्ताहरूलाई सरकारले सय दिनभित्र रकम फिर्ता गर्ने लक्ष्य लिए अनुसार मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी हुन्।
बिहीवार बिहानैदेखि मन्त्रालयमा देशभरका सहकारी पीडितहरू भेला भई मन्त्री रावललाई आफ्ना समस्या र गुनासा सुनाइरहेको उनको सचिवालयले जनाएको छ । सहकारीमा बचत गरेको रकम लामो समयदेखि फिर्ता नपाउँदा समस्यामा परेका पीडितहरुले मन्त्रीलाई भेटेर आफ्ना समस्या सुनाएका छन् ।
सहकारी पीडितहरुसँग छलफलका क्रममा मन्त्री रावलले समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको जनाएकी छन्। उनले भनिन्, “पीडितहरूको सम्बोधन कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर छ,”।
सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न चरणबद्ध रूपमा काम अघि बढाएको र विशेषगरी साना बचतकर्ताहरूलाई राहत दिने योजनामा केन्द्रित रहेको मन्त्री रावलको धारणा छ।
त्यस्तै मन्त्री रावलसँगको छलफलले आफ्ना समस्या समाधान र न्यायका लागि पहल हुनेमा आशा पलाएको सहकारी पीडितहरुले जनाएका छन् ।


