काठमाडौं । केहीबेरमा शपथ हुने तयारीमा रहेका प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्बबाट गर्ने निर्णयहरुको तयारी थालेका छन् । बालेनको सचिवालय सम्वद्ध स्रोतका अनुसार, त्यसका लागि विभिन्न मन्त्रालयहरुबाट गर्न सकिने कामहरूको विवरण संकलन भइरहेको हो ।
मुख्यसचिव सुमन अर्यालको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहिलो मन्त्रिपरिषद्बाट गर्न सकिने जनमुखी कामहरुको विवरण पठाउनु भनी सबै मन्त्रालयहरुमा पत्राचार गरेको थियो ।
‘तत्काल र छिटोछरितो रुपमा के कस्तो कामहरु गर्न सकिने छन्, त्यसको विवरण संक्षिप्त रुपमा पठाउनु भनेर आएको पत्रका आधारमा हामीले विवरणहरु पठाएका छौं’ एक मन्त्रालयका सचिवले अनलाइनखबरसँग भने, ‘त्यहाँबाट छानिएका र उपयुक्त लागेका प्रस्तावहरु समावेश गरेर मन्त्रिपरिषद्ले निर्णय गर्ने योजना रहेछ ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्वद्ध स्रोतका अनुसार, संकलन गरिएका योजना र कार्ययोजनाहरू बालेन शाहको सचिवालयमा पठाइएको छ । त्यहाँ उनको विज्ञको टिम र अरु निजामती कर्मचारीहरूले उपयुक्त लागेका प्रस्तावहरू छानेर निर्णय गर्ने योजना छ ।
स्रोतले भन्यो, ‘हामीले पठाएका विवरणमध्ये कुनकुन छानिन्छन् भन्ने त प्रधानमन्त्रीज्यू र उहाँको टिमले नै निर्क्यौल गर्ला, त्यसका आधारमा मन्त्रिपरिषद् बैठकले निर्णय लिने हो ।’ सबै मन्त्रालयहरुले एक/दुई पेजमा तत्काल गर्न सकिने काम, त्यसले आम जनमानसमा पार्ने प्रभाव र अरु सम्भावनाहरूको संक्षिप्त विवरण पठाएका छन् ।
स्रोतका अनुसार, केही मन्त्रालयहरू गाभेर छरितो र प्रभावकारी बनाउने, जनतासँग जोडिएका पासपोर्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र जस्तो सेवा प्रभावकारी बनाउने लगायतका विषयमा काम गर्ने योजना छ । त्यसैगरी शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रसँग सम्बन्धित प्रस्तावका विवरण पनि समावेश भएको स्रोतले जनाएकाे छ।
अघिल्लो हप्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तयार पारेको सुशासन मार्गचित्र(गुड गभर्नेन्स ब्लु प्रिन्ट) पनि बालेनको सचिवालयमा पुगिसकेको छ । विगतको भ्रष्टाचार अनुसन्धान एवं गैरकानूनी सम्पत्तिआर्जनका विषय छानविनको योजनावारे पनि छलफल भएको स्रोतले जनाएकाे छ ।
‘तर कस्ता विषय अहिले नै निर्णय हुन्छन्, कस्ता विषय छलफलपछि अर्को पटक प्रस्तुत हुन्छ भन्नेबारेमा कुनै टुंगो लागेको छैन’ प्रधानमन्त्री कार्यालयसम्वद्ध स्रोतले भन्यो, ‘पहिलो मन्त्रिपरिषद्को सबै प्रस्ताव र निर्णयहरु नवनियुक्त प्रधानमन्त्रीज्यूबाट तय हुने अनुमान गरेका छौं ।’


