काठमाडौं । गुल्मी १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा युवा राजनीतिज्ञ सागर ढकालले मन्त्रिपरिषद् बैठकले आइतबार गरेको राजनीतिक नियुक्तिको कडा शब्दमा आलोचना गरेका छन्।
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने र प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रधानमन्त्री कार्कीको तीब्र आलोचना भइरहेको छ।
ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत विवादास्पद नियुक्तिको विषयलाई सार्वजनिक गर्दै सरकारको कार्यशैलीमाथि प्रहार गरेका छन्।
ढकालले राज्यका निकायहरू विज्ञताका आधारमा नभइ राजनीतिक पहुँच र “नातावाद”का आधारमा चल्नु दुर्भाग्यपूर्ण भएको जनाएका छन्। उनले उक्त नियुक्ति बदर गर्न माग गरेका छन्।
त्यस्तै पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पनि उक्त नियुक्ति विषयलाई गम्भीर आपत्ति प्रकट गरेकी छन्।
जेनजी आन्दोलनको अर्गमोर्चामा रहेकी रक्षा बमले प्रश्न गरेकी छन्, ‘सडकमा सुशासनका लागि, नातावाद र कृपावादको विरुद्ध नारा लगाउँदै मेरा जेनजी साथीहरूले छाती र टाउकोमा गोली खाए। मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको प्रवाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए। केका लागि थाहा छ ? यो देशले, विस्तारै भए पनि, सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि। प्रधानमन्त्री र मन्त्रीज्यूहरूले आफ्ना मान्छेलाई बिदाइ उपहार स्वरूप परिषद्, विभाग वा समितीका कुर्सीहरू बाडफाटँ गर्नका लागि होइन ।’
म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्व शिक्षामन्त्री महाबिर पुनले पनि यी नियुक्ति र सिफारिस शत प्रतिशत गलत भएको जनाएका छन्।


