काठमाण्डौ उपत्यकाको सबै भन्दा पुरानो र माथि रहेको बज्रयानसंग सम्वन्धित गुँबाहाःमा सक्व अर्थात साँखुको ३३२६ औं स्थापना दिवस भब्य रुपमा मनाएको छ । नेवाः वस्तीकै कुण्डली भएको शहरको रुपमा लिएको साँखु स्थापना भएको दिनलाई सम्झदै प्रत्येक बर्ष साँखु स्थापना दिवस मनाउदै आएको छ ।
हलिं नेवाः गुथिको ३३२६ औं सक्व स्थापना दिवस समारोह समितिको आयोजनामा गत फागुन २४ गते आइवार आयोजना गरेको उक्त कार्यक्रममा हलिं नेवाः गुथिका सदस्यहरु साथै अन्य ब्यक्तित्वहरु सहभागी भएका थिए । प्रत्येक बर्ष फागुन शुक्ल तृतियाको दिनमा साँखुको स्थापना दिवस मनाउदै आएकोमा यस बर्ष आम निर्वाचनका कारण केहि दिन पछि तिथि अनुसार पञ्चमी आइतवार मात्र औपचारिक कार्यक्रम गरेको हो ।
साँखु स्थापना दिवसको बारे कलिगत सम्वंत १८०१ फागुन शुक्ल तृतियाको दिनमा सक्व देय् अर्थात शंखरापुर शहर साँखु पलिस्था भएको हो । सात वटा गाउँ गागल, नागाचा, च्ववहि, गुल्मा, पावना, मुदेख्वा एकीकृत गरि शाशं अर्थात सक्व देश शंखदेव राजाका लागि जोगदेशव बज्राचार्यले बज्रयोगीनीको आदेशमा स्थापना गरेको हो । उहाँ बज्रयोगीनिको नवौं पुस्ताका पुजारी जोगदेव बज्राचार्यले बनाएको कुरा उल्लेख छ । मणिषले महावरणन अर्थात पुरानमा स्पष्ट रुपमा लेखिएको छ ।
उक्त कार्यक्रम शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि श्रेष्ठले साँखुको सांस्कृतिक महत्वलाई ध्यानमा राखी नगरपालिकाले काम गर्दै आएको र भविश्यमा पनि गर्दै जाने बताउनु भयो । कार्यक्रममा संस्कृतिविद् प्रकाशमान सक्वले शंखरापुर शहर साँखुको ऐतिहासिक सांस्कृति महत्व साथै बज्रयोगिनीसंग साँखुको सम्वन्धको बारेमा बताउनु भयो । उक्त कार्यक्रममा हलिं नेवाः गुथिका अध्यक्ष सुरेश सैंजु, संस्थापक अध्यक्ष एवं संरक्षक शान्तप्रकाश श्रेष्ठ, उपाध्यक्ष अमर महर्जन, सचिव सत्यनारायण श्रेष्ठले हलिं नेवाः गुथिका गतिविधि एवं संगठनको बारेमा बोल्नु भएको थियो । कार्यक्रममा पत्रकार श्रीकृष्ण महर्जनले साँखु स्थापना दिवसलाई भब्य रुपमा मान्दै साँखुको महत्वलाई बुझाउनका लागि सांखु अर्थात शंखरापुरका प्रथम राजा शंखदेव र शंखरापुर बनाउने जोगदेशव बज्राचार्यको मूर्ति स्थापना गर्नुपर्ने कुरामा जोड दिनु भयो । कार्यक्रम ज्ञानश्री श्रेष्ठको अध्यक्षतामा भएको थियो ।


