शनि, चैत्र २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

खडग पाण्डे

एक जना साइकल यात्रुले पैदल यात्रुलाई ठक्कर दिए। ठक्कर दिने साइकल यात्रुले ठक्कर खाने यात्रुलाई भन्यो- धन्न तिमी भाग्यमानी रहेछौ, बाँच्यौ। पैदल यात्री छक्क पर्‍यो। उसले सोच्यो- जसले ठक्कर दिन्छ उसैले मलाई भाग्यमानी भन्छ! रिसाउँदै उसले भन्यो- के नचाहिने बकवास गरेको? म कसरी भाग्यमानी भएँ? साइकल यात्रुले जवाफ दियो- हेर भाइ, म  ट्रक ड्राइभर हुँ। यदि मैले साइकलको सट्टा ट्रक चलाएर ठक्कर दिएको भए के हुन्थ्यो, सोच त!

अहिले देशको राजनीतिक वातावरण रास्वपामय भएको छ। जनताले विगतका वर्षहरूमा देखेको र भोगेको कुशासन, भ्रष्टाचार र विभिन्न बेथितिहरूका विरुद्ध आफ्नो असन्तुष्टि मतमार्फत व्यक्त गरेका छन्।  यही परिस्थितिलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक रूपमा क्यास गर्न सफल भयो। धेरै मतदाताले पुराना, परीक्षण भइसकेका र असफल सावित भएका दलहरूको विकल्पका रूपमा रास्वपालाई रोजे। रास्वपाले जनताबाट “सन्देहको लाभ (Benefit of Doubt)” प्राप्त गरेको छ। अर्थात् विगतमा बारम्बार परीक्षण भएर पनि जनअपेक्षा पूरा गर्न नसकेका दुष्ट, कपटी, ढोगी, भ्रष्टाचारी, दुराचारी, अहंकारी  दलहरूको विकल्पका रूपमा रास्वपा देखा पर्‍यो। यही जनभावना र असन्तुष्टिको लहरका कारण रास्वपा प्रभावशाली र शक्तिशाली राजनीतिक शक्ति बनेको छ। माथि उल्लेख भए अनुसार ट्रकबाट किच्चिएर मर्नु भन्दा साईकलको ठक्करनै भाग्यमानी ठाने।

अहिले धेरैलाई लागिरहेको छ कि रास्वपाले चुनाव जित्नु नै सबैभन्दा ठूलो घटना हो। तर वास्तवमा आश्चर्यको विषय रास्वपाको जित मात्र होइन दशकौँदेखि सत्ता र राज्यसत्ता आफ्नो निजी सम्पत्ति झैँ ठानेर बसेका परम्परावादी, खानदानी ‘ठूला’ दलहरू चुनावमा पराजित हुनु हो। वर्षौँसम्म जनतामाथि शासन गर्ने अभ्यस्त बनेका ती दलहरूका लागि जनताको यो निर्णय मानौँ कल्पनाभन्दा बाहिरको घटना बनेको छ।

ओली, गगन वा शेखरजस्ता नेताहरू र उनीहरूको वरिपरि घुम्ने राजनीतिक वृत्तले यस्तो निर्वाचन परिणाम आउने कल्पनासम्म गरेका थिएनन्। त्यसैले परिणाम सार्वजनिक भएपछि उनीहरू अझै पनि आश्चर्य, अविश्वास र स्तब्धताको अवस्थामै छन् जस्तो देखिन्छ। सायद उनीहरूलाई अझै पनि लागिरहेको होला- यो वास्तविकता हो कि कुनै क्षणिक राजनीतिक स्वप्न।

जनताले दिएको यो परिणामले स्पष्ट संकेत गरेको छ कि अहंकार, दम्भ र पुरानो राजनीतिक हैकम अब सहजै टिक्ने अवस्था छैन। समयले देखाइरहेको छ- जनताको धैर्यको पनि सीमा हुन्छ र जब त्यो सीमा नाघिन्छ तब परिणाम यस्तै अप्रत्याशित र कठोर हुन सक्छ।

निर्वाचनको क्रममा मैले काठमाडौंका केही मतदान केन्द्रहरूमा पर्यवेक्षकको हैसियतले प्रत्यक्ष अवलोकन गरे।  मतदान केन्द्रहरूमा बस्दा एउटा रोचक तर केही हदसम्म अनौठो दृश्य देख्न पाइन्थ्यो। धेरै ठाउँमा नेपाली कांग्रेस, एमाले र नेकपाका उम्मेदवारका प्रतिनिधिहरू आ-आफ्नो समुहमा आरामसँग गफिँदै बसेका देखिन्थे। अझ रमाइलो त के देखिन्थ्यो भने- कांग्रेसको प्रतिनिधिले आफ्नै कांग्रेसका साथीलाई सोध्थ्यो, “भोट केमा हालिस्?” वा “कुन चुनाव चिन्हमा हाल्ने हो?” एमालेका  र नेकपाका प्रतिनिधिहरूले पनि आफ्नै साथीलाई यही प्रश्न दोहोर्‍याउँथे। अर्थात्, दलको प्रतिनिधि भएर बसेका मानिसहरू आफैँबीच कसलाई भोट हाल्ने भनेर छलफल हुनु आँफैमा राजनीतिक दिवालिया हो। मतदान केन्द्रभित्र देखिएको यस्तो अनौठो र विरोधाभासपूर्ण दृश्यले मलाई त्यही बेला एउटा संकेत दिएको थियो- यस पटकको निर्वाचन परिणाम सामान्यभन्दा फरक आश्चर्यजनक हुने आँकलन गरेको थिएँ।

सत्ताको राज्यमा आलोपालो राज गर्दै आएका स्थापित दलहरूप्रति जनतामा जमेको आक्रोश र नयाँ शक्तिप्रति पलाएको आशाको सम्मिलित परिणाम नै अहिलेको निर्वाचन नतिजा हो। वर्षौँदेखि एउटै राजनीतिक वृत्तभित्र घुमिरहने सत्ता, उही अनुहार र उही शैलीको शासनले जनतामा गहिरो असन्तुष्टि परिणाम हो।

जनताले लामो समयसम्म सहेर बसेका निराशा, बेथिति र कुशासनप्रतिको आक्रोश अन्ततः मतपेटिकामार्फत व्यक्त भएको देखिन्छ। अर्कोतर्फ, नयाँ विकल्पप्रति केही आशा र परिवर्तनको चाहनाले पनि मतदातालाई फरक निर्णय गर्न प्रेरित गरेको छ। त्यसैले अहिले देखिएको निर्वाचन परिणाम कुनै आकस्मिक घटना होइन; यो स्थापित दलहरूप्रति बढ्दै गएको असन्तोष र नयाँप्रतिको अपेक्षाको स्वाभाविक अभिव्यक्ति हो।

स्थापितबाट विस्थापित भएका दलहरूको पनि थोरै चर्चा गरौँ। एमाले संगठनका हिसाबले बलियो र प्रभावशाली मानिएको दल हो। संसदीय व्यवस्थाको खेल कसरी खेल्ने भन्नेमा माहिर खेलाडीका रूपमा पनि हेरिन्छ। मनि र मसल परिचालन गर्न सक्ने क्षमता एमालेसँग सधैँ रहँदै आएको थियो। तर यसपटकको निर्वाचन परिणामले भने एमालेका लागि अत्यन्त लज्जास्पद पराजय ल्यायो।

एमालेको हारका कारणहरू धेरै जटिल होइनन्; ती प्रष्ट देखिने खालका छन्- दम्भ, अहंकारी नेतृत्व। जब नेतृत्वको केन्द्रमा विचार, नीति र सिद्धान्तभन्दा व्यक्तिपूजा हावी हुन थाल्छ तब संगठनको बल पनि क्रमशः कमजोर बन्दै जान्छ। एमालेभित्र पनि यस्तै प्रवृत्ति मौलाएको थियो। आफ्नै रोजाइका मानिसहरूलाई वरिपरि राखेर ‘हनुमान’ बनाउने र आफुलाई स्वयम ‘राम’ ठान्ने प्रवृत्तिको परिणाम हो यो पराजय।

ओलीले आफूलाई बिना एमाले मात्र होइन देश नै ठप्प हुन्छ भन्ने भ्रम थियो। आफ्नै निर्णय र विचारलाई अन्तिम सत्य ठान्ने र अरू सबैलाई गौण वा गलत ठहर गर्ने प्रवृत्तिले पार्टीभित्रको स्वस्थ बहस र आलोचनालाई प्रतिवन्धनै लगायो। परिणामतः पार्टीभित्र लोकतान्त्रिक अभ्यासभन्दा व्यक्तिकेन्द्रित सोच बलियो बन्दै गयो। यस कारणले एमालेको अहिलेको पतन कुनै आकस्मिक घटना होइन; यो लामो समयदेखि जम्दै आएको अहंकार, गलत नेतृत्व शैली र संगठनभित्रको चाटुकारिताको स्वाभाविक परिणाम हो। ओलिको अहंकारको मुल्य पुरै एमालेले ब्यहोर्नु पर्‍यो।  यो हार केवल ओलीको मात्र हार होइन। ओलीलाई अलौकिक अवतारजस्तो मान्दै आलोचना गर्न नसक्ने, आफ्ना स्वार्थ र लाचारीका कारण सत्य बोल्न नसक्ने नेता र कार्यकर्ताहरूको सामूहिक जिम्मेवारी पनि यसमा जोडिएको छ। यही स्वार्थ, चापलुसी र मौनताको कुल जोडले अन्ततः एमालेको आजको अवस्थालाई जन्म दिएको हो।

आफूलाई प्रजातन्त्रको पर्यायवाची ठान्ने नेपाली कांग्रेस उदारवादी राजनीतिक दलका रूपमा चिनिन्थ्यो। लोकतान्त्रिक मूल्य, सहिष्णुता र बहुलवादका कुरा गर्ने पार्टीका रूपमा यसको पहिचान बनेको थियो। तर कालान्तरमा यही उदारवादले सीमाना नाघ्दै जाँदा पार्टीभित्र अनुशासन, विचार र नैतिकताको आधार क्रमशः स्खलित हुँदै गयो। कांग्रेसभित्र मौलाएको भारदारी संस्कृतिले पार्टीलाई बिस्तारै खोक्रो बनायो। विचार र सिद्धान्तभन्दा गुट, स्वार्थ र पहुँचको राजनीति हाबी हुन थालेपछि संगठनको आत्मा नै क्षीण हुँदै गयो। भ्रष्टाचार, अनियमितता र मानव तस्करीजस्ता काण्डसँग जोडिएका पात्रहरूले जम्मा गरेको सम्पत्तिबाट निस्कने दुर्गन्धले पार्टीको नैतिक छवि झनै धुमिल बनायो। परिणामतः धेरै कांग्रेस समर्थकहरूले पनि यसपटक ‘रुख’ चिन्हमा भोट हाल्न मन गरेनन्।

यद्यपि गगनजस्ता केही नेताहरूले त्यो दुर्गन्ध ढाक्न ‘मास्क’ बाँडेजस्तै देखिए। तर त्यो मास्कले वास्तविक समस्या छोप्न सकेन। जब पार्टीभित्रको विकृति यति गहिरो हुन्छ तब सतही उपायहरूले त्यसलाई लुकाउन सक्दैनन्। तस्करी र अनियमितताबाट आएको धुवाको मुस्लोमा रमाउनेहरू नै अन्ततः पार्टीप्रति निष्ठावान् रहन सकेनन्। फलतः कांग्रेसले गर्व गर्दै आएको प्रजातन्त्र, उदारवाद र समाजवादका आदर्शहरू पनि त्यही धुवाको मुस्लोभित्र हराउँदै गए। परिणामस्वरूप पार्टीको अवस्था यतिसम्म दयनीय बन्यो कि एक समयको गौरवशाली राजनीतिक शक्ति आज हताशा र अविश्वासको घेराभित्र परेको देखिन्छ।

नेपालमा गणतन्त्र स्थापना गर्ने ऐतिहासिक आन्दोलनसँग जोडिएको नेकपाको यसपटकको चुनावी परिणाम सापेक्ष रूपमा अपेक्षित नै थियो। जुन पार्टीले राजनीतिक दर्शन र वर्गीय पक्षधरतालाई आफ्नो पहिचान बनाएको थियो त्यही पार्टीले कालान्तरमा ती मूल आधारहरूलाई तिलाञ्जली दिँदै केवल इतिहासको ब्याजबाट जीवन धान्ने प्रयास गर्नु आफैँमा ठूलो विडम्बना हो।

जब कुनै पार्टीले आफ्नो वैचारिक आधार कमजोर पार्दै जान्छ र सिद्धान्तभन्दा अवसरवादलाई प्राथमिकता दिन थाल्छ त्यसको परिणाम पनि क्रमशः त्यही दिशामा देखिन थाल्छ। भोटको नाममा विवाहमा जन्ती पर्सेजस्तो जो आए पनि सत्कार गर्ने प्रवृत्ति बढ्दै गयो। विचार, योगदान र जनआधारको मूल्याङ्कन नगरी गाउखर्के शैलीमा मनोनयन गरेर केन्द्रीय नेता बनाउने परम्पराले संगठनलाई झनै दिशाहीन बनायो। यस्तो अवस्थामा चुनावी परिणाम फरक आउने अपेक्षा गर्नु आफैँमा अवास्तविक हुन्छ।

अझ विडम्बना त के देखियो भने पार्टी पंक्तिभित्र ‘जनयुद्ध’ जस्तो ऐतिहासिक शब्द उच्चारण गर्नसमेत असहजता वा बन्देजजस्तै अवस्था सिर्जना गरियो। जब आफ्नै इतिहास र संघर्षप्रति संकोच वा दूरी पैदा हुन्छ तब पार्टीभित्रको आत्मविश्वास र वैचारिक ऊर्जा स्वाभाविक रूपमा कमजोर हुन्छ। पुरेतले जम्मा गरेका गाईहरूले गोठ त भरिपूर्ण देखिन्छ तर दुध तताउने कुडे भने रित्तै हुन्छ। बाहिरबाट संख्या र संरचना ठूला देखिए पनि भित्रको सार, ऊर्जा र उत्पादनशक्ति कमजोर भयो भने अन्ततः परिणाम पनि त्यही अनुसार देखिन्छ। पूर्व जनमुक्ति सेनाका कमान्डरहरूले आफ्नै पार्टीको इतिहास र गौरवगाथा रञ्जिता श्रेष्ठजस्ता व्यक्तिहरूबाट सुन्नुपर्ने अवस्था सिर्जना हुनु आफैँमा विडम्बनापूर्ण हो।

पहिचानवादी र मधेसवादी दलहरूको हकमा पनि जनताले क्रमशः उनीहरूले बोकेका ‘एजेन्डा’ भित्र लुकेको स्वार्थ बुझे। पहिचान र अधिकारका नाममा उठाइएका मुद्दाहरू जनताको वास्तविक हितभन्दा पनि नेताहरूको राजनीतिक अस्तित्व र लाभको साधन बनेको अनुभूति मतदाताले गर्न थाले। त्यसैले यसपटकको निर्वाचनमा जनताले त्यस्ता दलहरूलाई पनि आफ्नो निर्णयमार्फत् मूल्य चुकाएका छन्।

अर्कोतर्फ श्रम  संस्कृति पार्टी जस्ता केही नयाँ राजनीतिक प्रयासहरूले भने आफ्नो उपस्थिति देखाउन थालेका छन्। यद्यपि ती अझ प्रारम्भिक चरणमै छन्।हर्क साम्पाङ जस्ताहरूले परम्परागत राजनीतिक शैलीभन्दा फरक अभ्यास देखाउँदै जनतामाझ केही आशा जगाएका छन्। यदि उनीहरूले आफ्नो व्यवहार र काम मार्फत् देखिएको उत्साहलाई निरन्तरता दिन सके र भविष्यको कठोर राजनीतिक कसौटीमा खरो उत्रन सके भने यस्ता पात्रहरूले नै भविष्यको राजनीतिक दिशालाई प्रभाव पार्ने झिनो सम्भावना पनि देखिन्छ।

अहिलेको निर्वाचन परिणाम हेर्दा प्रेम सुवाल, लेखनाथ न्यौपाने, कुलमान घिसिङजस्ता केही व्यक्तिहरू संसद्मा आउनुपर्ने अपेक्षा गरिएका पात्रहरू छुटेको देखिन्छ। तर अहिलेको राजनीतिक वातावरण हेर्दा स्थापित दलहरूसँगको आवद्धता नै कतिपय अवस्थामा अयोग्यताको प्रमाणजस्तै ठानिने अवस्था सिर्जना भएको छ। यही कारणले पनि यसपटकको निर्वाचनमा केही योग्य मानिएका व्यक्तिहरू पछाडि परेका देखिन्छन्। यसलाई अहिलेको चुनावको एउटा नकारात्मक पक्षका रूपमा पनि लिन सकिन्छ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्रीद्वयले द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त

परराष्ट्रमन्त्रीद्वयले द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त

६ घण्टा अगाडि
शुक्रबारदेखि  ‘राम नाम सत्य’ प्रदर्शनमा

शुक्रबारदेखि ‘राम नाम सत्य’ प्रदर्शनमा

६ घण्टा अगाडि

तर समग्र रूपमा हेर्दा अहिलेको जनमतले नेपालको राजनीतिक वृत्तमा लामो समयदेखि स्थापित धेरै मान्यताहरूलाई खारेज गरिदिएको छ। मतदाताहरूले आफूलाई कुनै दलको अन्धसमर्थक वा ‘झोले’ बन्न अस्वीकार गरेका छन्। उनीहरूले आफूलाई दलहरूले प्रयोग गर्ने ‘भोट बैंक’ मात्र बन्ने भूमिकाबाट पनि बाहिर निस्कने संकेत दिएका छन्। यसपटकको मतदानले मतदाताको स्वतन्त्र निर्णय क्षमता र चेतनाको स्तर उल्लेखनीय रूपमा बढेको देखाएको छ।

जनयुद्धपछिको राजनीतिक परिवर्तनले समाजमा जन्माएको चेतनालाई अहिलेको नयाँ पुस्ता- विशेषगरी ‘जेन्जी’ पुस्ताको प्रश्न र असन्तुष्टिले अझ उचाइमा पुर्‍याएको देखिन्छ। विश्वका विभिन्न देशहरूमा देखिएका राजनीतिक उथलपुथलका उदाहरणहरू जस्तै बंगलादेशमा देखिएका आन्दोलन र परिवर्तनका घटनाहरूले पनि यहाँका राजनीतिक वृत्तमा बसेर सुरक्षित महसुस गरिरहेका धेरैलाई झस्काउने काम गरेका छन्। परिणामतः अहिलेको जनमत केवल चुनावी परिणाम मात्र होइन बदलिँदो राजनीतिक चेतना र समाजको मनोविज्ञानको संकेत पनि हो।

अहिलेको विशाल जनादेशले रास्वपालाई इतिहासमा विरलै पाइने अभूतपूर्व अवसर प्रदान गरेको छ। जनताको त्यो विश्वासलाई नीति, योजना र कार्यक्रममा रूपान्तरण गरी कुशलतापूर्वक कार्यान्वयन गर्नु अबको मुख्य जिम्मेवारी हो। प्रष्ट बहुमतले रास्वपालाई दिएको समर्थनमा “किन्तु” वा “तर” भन्न कुनै छुट छैन।

पुरातन पार्टिहरूको विगतका कमजोरी र स्वार्थले सिर्जना गरेको जनताको आशा र विश्वासमा यदि कुनै प्रकारको कमजोरी देखियो भने यसको मूल्य अत्यन्त महँगो पर्नेछ। त्यसैले रास्वपालाई सजग रहन आवश्यक छ। अन्ततः, उमेरले युवा, जनतामा आशा जगाउने र पुराना खानदानी पार्टीहरूलाई सोत्तर पार्ने  रास्वपालाई आउनुहोस हामी सबै मिलेर गाली नगरौ। आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐनालाई होइन अनुहार पुछौ। आफुलाई भोट नदिने मतदाताको अपमान नगरौ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो”

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगे

विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको तयारी पूरा

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक