रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ स्थित सबगढा टोलमा भएको साम्प्रदायिक विवाद उग्र बनेपछि जनधनको क्षति रोक्न जारी गरिएको कर्फ्युका बीच जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आइतबार सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
बैठकले जिल्लाभर धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव सुदृढ गर्न सोमबार बिहान ७:३० बजे सबगढामा नागरिक समाजको अगुवाइमा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको छ। सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने र उक्साहट गर्ने गतिविधिमाथि कडा निगरानी र आवश्यक कारबाही गर्ने निर्णयसमेत गरिएको छ।
सुरक्षा व्यवस्था कडा
घटनापछि गौर र आसपासका क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति परिचालन गरिएको छ। भारत–नेपाल सीमामा समेत कडाइ गर्दै आवागमनमा नियन्त्रण गरिएको छ। सीमामा परिचय खुल्ने कागजात अनिवार्य गरिएको प्रशासनले जनाएको छ।
शनिबार भएको झडप नियन्त्रणका क्रममा प्रहरीले लाठीचार्ज, हवाई फायर तथा अश्रुग्यास प्रहार गरेको थियो। झडपमा ६ जना घाइते भएका छन् भने केही सवारीसाधनमा आगजनी र तोडफोड भएको छ।
शेख जमसैदसहित २३ जना नियन्त्रणमा
साम्प्रदायिक सद्भाव बिगार्ने आरोपमा जनमत पार्टीका जिल्ला अध्यक्ष शेख जमसैदसहित २३ जनालाई नियन्त्रणमा लिइएको प्रशासनले जनाएको छ। जमसैदसँग सोधपुछ भइरहेको र प्रमाणका आधारमा थप कारबाही अघि बढाइने जनाइएको छ।
यसै क्रममा गौर नगरपालिका–६ का वडाध्यक्ष अबधविहारी साहलाई पनि नियन्त्रणमा लिइएको छ।


