-लोकनारायण सुवेदी
आज साम्राज्यबादको कोशिश तेश्रो बिश्व युद्ध हुन नदिन र हर संभव उपायले त्यसलाई टार्नतिर उद्यत छ भन्ने कुरा सुन्दा मात्रै पनि धेरैलाई आश्चर्य लाग्न सक्तछ । किनकि साम्राज्यवाद बिना युद्ध टिक्न सक्तैन भन्ने प्रामाणिक र पुरानो मान्यता हो । हुन पनि आज साम्राज्यवादले युद्ध आयुध(वारहेड)का एकपछि अर्काे अनेक खतरनाक र अत्यन्तै घातक अत्याधुनिक शस्त्रास्त्र थुपारेको छ ।
त्यस्ता घातक क्षमताका अन्तर महाद्विपीय प्याट्रिओट प्रक्षेपास्त्रहरु, ड्रोन(मानबरहीत) बिमानहरु तथा अत्याधुनिक रोबोट सैनिक उपकरण आबिष्कारका बिभिन्न प्रलयकारी शस्त्रास्त्रहरुले सुसज्जित शक्ति किन तेश्रो बिश्व युद्ध टार्न कोशिश गरिरहेको होला भन्ने गम्भीर प्रश्न स्वाभावतः उत्पन्न हुन्छ । आणबिक, रासायनिक र जैबिक अनेक यस्ता डलाग्दा हतियारको यसरी थुप्रो लगाए पनि साम्राज्यवादी शक्तिलाई यो राम्रोसँग थाहा भएको कुरा छ कि तेश्रो बिश्व युद्ध छेडियो भने उसको शक्ति पहिलाको भन्दा धेरै नै दयनीय बन्न सक्ने गम्भीरतम खतरा छ । त्यसबाट भूमंडलीकृत पूंजीवादी उपलब्धिहरुलाई गहिरो उठ्नै नसक्ने गरी गहिराे धक्का लाग्ने र पूर्ण समताबादी समाज ब्यवस्था स्थापनाको माग अझ तीब्र भएर उठ्ने र त्यसले पुनः जोड पक्रिनजाने कुरा उसले राम्ररी बिश्लेषण गरेको र बुझेको छ ।
यसरी पुनःसमाजवादी बिश्व आन्दोलन सशक्त बन्न सक्ने सम्भावनाको खतरा उसले राताेदिन देखिरहेको छ ।यहां कुन ऐतिहासिक वास्तबिकताको पुनःस्मरण गर्नु उचित होला भने दुइटा बिश्व युद्धहरु (१९१४ र १९४५)का कारणले त्यतिबेला कम्युनिष्ट आन्दोलनले तीब्र गति पक्रेको थियो । त्यसैले तेश्रो बिश्व युद्ध भयो भने त्यो त्यस्तै निर्णायक युद्ध हुन सक्तछ र त्यसले बिद्यमान बित्तीय साम्राज्यवादी किल्लालाई नराम्रोसँग तहसनहस तुल्याउन सक्तछ भन्ने आकलन त्यो शक्तिले गरिरहेको छ । त्यसैले साम्राज्यवादका अगाडि यतिबेला एउटै मात्र बिकल्प छ कि तेश्रो बिश्व युद्धको सम्भावनालाई यथार्थमा रुपान्तरण हुनबाट यथासम्भव रोक्नु, टाल्नु र सकेसम्म स्थगित राख्नु उसको हितमा छ ।
बिश्वको उदाउँदो महाशक्ति चीनसँगको अन्तरबिरोधलाई ‘ब्लो हट–ब्लो कोल्ड- कूटनीति’ ले ‘डिफ्यूज’ गरिरहने र स्थानीय व क्षेत्रीय लड़ाइहरुको माध्यमले आफ्नो वर्चस्व कायम राखिरहने साम्राज्यवादी शक्तिको आजको नीति देखिन्छ । १९९७ मा अमेरिकाका तत्कालीन राष्ट्रपति बील क्लिण्टनले न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दा के स्वीकारेका थिए भने शीत युद्धको समाप्ति (१९९१) भइसके पछि पनि सैन्य संघर्ष कम हुनुको साटो अझ बढिरहेको छ । त्यसबेला सबै सदस्य राष्ट्रहरु उनको यो स्वीकारोक्तिबाट आश्चर्य चकित पनि भएका थिए । त्यस बेला एउटा बिश्लेषण र सामान्य अपेक्षा के पनि गरिएको थियो भने १९९१ मा सोभियत संघको अबशान पछि साम्राज्यवादले बिश्वलाई शान्तिसँग रहन दिनेछ । क्षेत्रीय युद्धहरु हुने छैनन् ।
तर पूँजीवादले आफ्ना आन्तरिक र बाह्य अन्तरबिरोधहरुको समाधानका लागि युद्ध जारी राख्यो र खाडीका मुलुक र अफगानिस्तानमाथि समेत त्यसयता अनेक युद्धहरुका एकपछि अर्को संस्करणहरुलाई जन्मायो ।उत्तर शीतयुद्ध कालको युद्ध श्रृंखला र आर्थिक मन्दीहरुका झट्काहरु चलिरहे पनि साम्राज्यवाद अक्षुण्ण कायम रहिरह्यो । यी पनि वास्तवमा साम्राज्यवादका समय समयमा उत्पन्न हुने अन्तरबिरोधहरुको सामना गर्ने रणनीतिहरु नै हुन् जुन अहिलेसम्म हरेक दृष्टिले उसका लागि लाभकारी सिद्ध हुँदै आएका छन् । एकातिर तहस नहस अर्कोतिर प्रगति, निर्माण र अन्तत ठूलो मुनाफा । इराक, अफगानिस्तान र लीबिया अहिले पछिल्लाे समय भेनेजुएला यसका पछिल्ला ज्वलन्त उदाहरणहरु हुन् भनेर उल्लेख गर्न सकिन्छ ।
त्यसो भए यो परिदृष्यको सामना नगरीकन पराजित हुने कि यसका बिरुद्ध सही किसिमले भिड्ने भन्ने ज्वलन्त प्रश्न स्वतः खडा हुन्छ । साम्राज्यवादी शक्तिले एकतर्फीरुपमा बिभिन्न देश र जनतामाथि कुल्चिरहनु र त्यसको सही किसिमले प्रतिकार नगरिनु राष्ट्रमुक्ति आन्दोनल र समाजवादी आन्दोनलका लागि अत्यन्तै आत्मघाती कुरा हुनजान्छ । मार्क्सवादका अनुसार पत्येक स्थितिमा द्वन्द्व कायम रहन्छ । त्यसैले साम्राज्यवादको स्थिति अजेय छ र यो यथास्थिति सदा कायम रहिरहन्छ भन्ने खालको सोच पनि वास्तवमा अमार्क्सवादी र भाववादी मनोगत सोच मात्र हो ।
प्रष्ट छ, यथास्थितिबादको पनि एउटा सीमा हुन्छ । त्यसमा पनि द्वन्द्व रहेको हुन्छ । आवश्यकता के छ भने यसको आकार–प्रकार तथा प्रभाव–परिणामका बारेमा बस्तुनिष्ठ आकलन र पहिचान गरिनु पर्दछ । बृहत स्तर र सुक्ष्म स्तर – बिश्वब्यापी तथा स्थानीय – मा क्रियाशील अन्तरबिरोधहरुको ठोस र सटीक पहिचान र तदनुरुपको रणनीति परिवर्तन तथा प्रतिरोधका नयाँ माध्यमहरुको आबिष्कारको आवश्यकता छ । जडसुत्रबादी रटिरटाउ मनोगत पूर्वाग्रहरुले यहाँ कुनै काम चल्दैन । सही सन्दर्भमा सही प्रेरणा लिने कुरा छाेडेर यहाँ १९१७ तथा १९४९ का कम्युनिष्ट आख्यानमा पूर्वबत फर्किने कामना गर्नु पनि अबैज्ञानिकता र अमार्क्सवादी दृष्टिकोण नै हुन जाने यथार्थलाई बुझ्नु अत्यावश्यक छ । भौतिक स्थितिहरु निरन्तर परिवर्तनशील छन् । मार्क्सवाद तिनैको यथार्थबादी दर्शन मानिन्छ । यसैले के ‘यथास्थितिवादिता’ को कामना भाववादी मानिदैन र ? यसका अतिरिक्त, बर्तमान यथार्थ के पनि हो भने ‘यथास्थितिबादी दिशामा फर्किन’ पनि नितान्त असम्भव कुरो हो । यसका केही महत्वपूर्ण कारणहरुका बारेमा माथि सर्सरी प्रकाश पारिसकिएको छ । मार्क्सको बिचारधारात्मक उपस्थिति निश्चयनै उनको जीवन कालको तुलनामा बितेको शताब्दीको आठौ दशकसम्म बिश्व स्तरमा अत्यधिक नै रहेको हो । उनको लेखनले पहिला धेरैमानिसहरुलाई प्रेरित तथा प्रभावित गरेको हो ।
आज पनि यसको अत्यन्तै ठूलो प्रभाव छ । ‘‘मार्क्सको पूँजीवादको बिकास र कार्यशैलीको आधारभूत बिश्लेषण’’ आज पनि बिगतको भन्दा अझ बढी प्रासांगिक छ । बिश्लेषणात्मक शक्ति पनि उत्तिकै सशक्त र यथाबत छ । तर यस सन्दर्भमा के मत पनि प्रवलरुपमा रहेको छ भने भविष्यमा मार्क्सवादमा पुनररुची त्यसबेला मात्र जाग्छ र हुन्छ जब उनको चिन्तन प्रकृयाको परम्परागत बिचारहरुको ठोस पुनरांकनमा आधारित रहेको हुन्छ । वास्तवमा मार्क्सवादको फराकिलो र ब्यापक ढाँचा भित्र समय सापेक्ष बैचारिक उपक्रमहरुलाई बिकसित गरिनु अत्यावश्यक छ । हुन पनि पूँजीवादी चिन्तकहरु आज पनि मार्क्सवाददेखि आतंकित छन्। बिकसित देशहरुमा मार्क्सवादी साहित्यको बिक्री आज पनि सुकेको छैन फैलिएकै छ । बितेका बर्षहरुमा कतिपय ल्याटिन अमेरिकी देशहरुमा साम्राज्यवाद बिरोधी समाजवादी प्रकृतिका शासनका नयाँ प्रयोग जुन भए आज ती पनि बहसको मुद्दा या बिषय बनेका छन् । पूँजीवादको संकटलाई बुझ्नका निम्ति फेरि पनि बिश्वमा आज मार्क्स र मार्क्सबाद तर्फ नै नजर लगाइदैछ र फर्किनु परिरहेकाे छ ।
त्यसैले परिवर्तन र सही बिकासमा बिश्वास लिने मार्क्सबादी समाजले अनावश्यक चिन्ता लिनु पर्ने निरास हुनु पर्ने आवश्यकता छैन । किनभने जबसम्म संसारमा असमानता, बिषमता, शोषण, उत्पीडनका आधारहरु र अबस्था तथा समस्याहरु रहि रहन्छन् तबसम्म मार्क्सवाद एउटा भरपर्दो जीवन्त हतियारका रुपमा सदा सर्बदा उपस्थित रहिरहन्छ । बिश्व पूँजीवादले के राम्रोसँग बुझिसकेको छ भने बिश्वको स्वयम्भू मसिहा बन्ने उसको कुरा पनि यथार्थतः ढोंग सावित भइसकेको या भइरहेको छ । यसकारण राजनीतिक शक्तिका रुपमा मार्क्सबादको प्रेतबाट आज पनि पूँजीवाद आतंकित छ । बिश्वका बिभिन्न भागमा आज पनि सुक्ष्म तथा लघु स्तरहरुमा जन आन्दोलनहरु बिकसित भइरहेका छन् र तिनले ठूलो आन्दोनलको रुप लिने स्थिति पनि देखापर्दै गएको छ । अतः बैयक्तिक स्वतन्त्रता तथा सामुहीक स्वतन्त्रताका अन्तरसम्बन्धहरु र अन्तरबिरोधहरुलाई नयाँ किसिमले बुझ्नै पर्ने आवश्यकता अहिले बिश्वमा अझ बढेको छ ।
जसले गर्दा यी दुबैको संगठित शक्तिमा सबल तथा बिषमतामुक्त ब्यबस्थाको पुनर्निर्माण गर्न सकियोस् । एकाङ्गी या संयुक्त रुपमा आर्थिक तथा राजनीतिक उदारबादले २१औ शताब्दीका बिश्वका समस्याहरुको कत्ति पनि समाधान गर्न सक्तैन भन्ने कुरा झन झन प्रबलरूपमा प्रमाणित हुदै आइरहेको र भइरहेको छ । यसकारणले मार्क्सलाई अर्थात् मार्क्सवादलाई झन गम्भीरतापूर्वक लिने र बुझ्ने आवश्यकता अझ बढ्न गएको छ र अत्यन्तै महत्वपूर्ण बन्न गएको यथार्थलाई गम्भीरतापूर्बक मनन र मन्थन गरौं ।


