सबि भट्टराई
नेपालमा अहिले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावको तयारी तीव्र रूपमा चलिरहेको छ । यो निर्वाचन नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण मोड मानिन्छ, किनकि विगतका ठूला दलहरूको निरन्तर असफलता र भ्रष्टाचारका आरोपहरूले जनतामा ठूलो निराशा पैदा गरेको छ । यस निर्वाचनमा दलहरू तथा उम्मेदवारहरू आ–आफ्नो प्रचारमा जोडतोडले लागेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपाजस्ता परम्परागत दलहरू आफ्ना पुराना नेताहरूलाई अघि सारेर चुनावी मैदानमा उत्रिएका छन् भने नयाँ पुस्ताका नेताहरूले नयाँ आशा जगाउने प्रयास गरेका छन् ।
दलहरूले आ–आफ्ना भावी प्रधानमन्त्रीका उम्मेदवारहरू पनि घोषणा गरेका छन् । नेपाली कांग्रेसबाट गगन थापा, नेकपा (एमाले) बाट केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन शाह (बालेन्द्र शाह) प्रधानमन्त्रीका प्रमुख दाबेदारका रूपमा प्रस्तुत भएका छन् । यीमध्ये बालेन शाह सबैभन्दा बढी चर्चामा छन् । उनी काठमाडौं महानगरपालिकाका पूर्वमेयरका रूपमा पहिले नै युवा पुस्ता र जनताबीच लोकप्रिय छन् । गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा ठूलो अन्तरले जित हासिल गरेपछि उनी राजनीतिक परिवर्तनको प्रतीक बनेका छन् । अब रास्वपामा प्रवेश गरेर प्रधानमन्त्रीको उम्मेदवार बनेपछि उनको लोकप्रियता झन् बढेको छ ।
बालेनलाई युवा पुस्ता र समग्र देशबासीले आशा र भरोसाका रूपमा हेरेका छन् । उनी पुराना राजनीतिक दलहरूको परिवारवाद, भ्रष्टाचार र वादविवादबाट अलग्गै देखिन्छन् । जनताले उनलाई ‘जनताको मेयर’ भन्दै चिनेका छन्, जसले काठमाडौंमा सडक सुधार, भ्रष्टाचारविरुद्ध कठोर कदम र युवा ऊर्जालाई प्राथमिकता दिए । यो निर्वाचनमा उनले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन्, जहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धा छ । यो क्षेत्र ओलीको गृहक्षेत्र हो, तर बालेनको चुनौतीले राजनीतिक वातावरण तातिएको छ ।
बालेनले पूर्वी झापादेखि पहाडी क्षेत्र, तराई हुँदै सुदूरपश्चिमसम्म चुनावी यात्रा गरिसकेका छन् । उनको यात्रा पूर्वबाट सुरु भएर कोशी प्रदेश, मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिमसम्म फैलिएको छ । यस क्रममा उनले सर्वसाधारणसँग छोटो संवाद गरेका छन्, स्थानीय समस्या सुनेका छन् र पार्टीका उम्मेदवारहरूसँग छलफल गरेका छन् । तर, उल्लेखनीय कुरा के छ भने उनले सञ्चारमाध्यममा ठूला अन्तर्वार्ता दिएका छैनन्, ठूला चुनावी सभामा लामो भाषण गरेका छैनन् र ओलीसँग सार्वजनिक डिबेट पनि अस्वीकार गरेका छन् । ओलीले बहसका लागि तयार भएको घोषणा गरे पनि बालेनले ‘ओलीसँग मञ्च साट्नु भनेको हत्या र हिंसामा संलग्नतालाई वैधता दिनु हो’ भन्दै अस्वीकार गरेका छन् । यो मौनता उनको चुनावी रणनीतिको मुख्य आधार बनेको छ ।
बालेनको मौन चुनावी अभियानमा अहिले प्रश्नहरू उठेका छन् । केहीले यो रणनीतिक कमजोरी हो भन्छन् भने धेरैले यो नै उनको सबैभन्दा बलियो हतियार भएको बताउँछन् । जनताले विगतमा ठूला–ठूला भाषण सुन्नुपरेको थियो– ‘विकासको बहार ल्याउँछौं’, ‘भ्रष्टाचार उन्मूलन गर्छौं’ जस्ता नारा सुने तर काम भएन । पुराना नेताहरूको भाषणबाट आजित जनताको रोजाइमा अहिले बालेनको मौनता परेको छ । उनी बोल्नुभन्दा काम गरेर देखाउने विश्वास दिलाउँछन् । काठमाडौंमा मेयर हुँदा उनले अवैध संरचना हटाए, सडक सफा गरे र युवालाई आशा दिए । त्यही क्रेज अहिले राष्ट्रिय स्तरमा फैलिएको छ । सामाजिक सञ्जालमा उनको मौन अभियानलाई ‘साइलेन्ट रिभोल्युशन’ भनिएको छ ।
यो मौन अभियानले बालेनप्रति ठूलो क्रेज देखिएको छ । युवाहरूले ‘अब कि बार बालेन सरकार’ नारा लगाएका छन् । झापा, सुदूरपश्चिम, कर्णाली जस्ता क्षेत्रमा उनको भ्रमणमा ठूलो भीड लागेको छ । स्थानीयले समस्या राख्दा उनी सुन्छन्, तर ठूलो वाचा गर्दैनन् । यो रणनीतिले जनतालाई विश्वास दिलाएको छ कि उनी पुराना जस्तो होइनन् । विगतका नेताहरूले भाषण गरेर जनतालाई झुक्याए, तर बालेनले काम गरेर प्रमाणित गरेका छन् । यो क्रेजले रास्वपालाई आगामी चुनावमा अझ बलियो बनाएको छ । पार्टीले बालेनलाई प्रधानमन्त्री उम्मेदवार बनाएर युवा मतदातालाई आकर्षित गरेको छ ।
रास्वपाको यो रणनीतिले चुनावमा सबैभन्दा धेरै जनमत पाउने सम्भावना बढाएको छ । परम्परागत दलहरूको मत घट्दै गएको छ भने रास्वपाको बढ्दै छ । बालेनको मौनता नै उनको प्रचारको आधार बनेको छ । जनताले सोचेका छन्, बालेनले धेरै बोल्दैन, अनावश्यक प्रतिबद्धता गर्दैन, सपना बाँड्ने काम गर्दैन, आश्वासन दिँदैन बरु सुन्छ, काम गर्छ । त्यही कारण बालेनको जितले नेपालको राजनीतिमा नयाँ युग सुरु गर्न सक्छ । यदि बालेन सफल भए भने यो मौन अभियान इतिहास बन्नेछ ।
यो निर्वाचनमा बालेनको मौनता अर्को एउटा सन्देश हो– राजनीति भाषणको होइन, कामको हो । जनताले अब ठूला नारा होइन, ठूला काम खोजेका छन् । बालेनको यात्रा जारी छ, र फागुन २१ ले यसको फैसला गर्नेछ । जनधारणा साप्ताहिक


