–निमकान्त पाण्डे
नेपाली कांग्रेसमा विशेष महाधिवेशनपछि नयाँ नेतृत्व आएको छ । यसले पार्टीभित्र केही पुराना प्रभावशाली नेताहरूलाई किनारा लगाएको छ । विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएका छन् र उनी भावी प्रधानमन्त्रीको रूपमा अघि बढाइएका छन् । गगन थापाले पटकपटक ‘कांग्रेस सुधारिएको छ’, ‘कांग्रेस बदलिएको छ, अब देश बदल्छौं’ भन्ने नारा दोहो¥याएका छन् । उनले जनतासामु सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता, युवा रोजगारी, सामाजिक न्याय र विकासको प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । यो नारा सुन्दा आकर्षक लाग्छ र युवा पुस्तामा उत्साह जगाउँछ । तर ‘सुधारिएको कांग्रेस’ भन्ने पदावलीले इतिहासको एउटा कालखण्डलाई तत्काल सम्झाइदिन्छ– त्यो हो सुधारिएको पञ्चायत । सुधारिएको पञ्चायतले जनतालाई ठूलो निराशा मात्र दियो र अन्ततः पूर्ण रूपमा असफल भयो, कांग्रेस कतै त्यही बाटोमा त अघि बढ्ने होइन ? यस्ता तमाम आशंका चिर्नुपर्ने जिम्मेवारी गगनमाथि छ ।
नेपालमा पञ्चायत व्यवस्था २०१७ सालमा राजा महेन्द्रले सुरु गरेका थिए । यो निर्दलीय व्यवस्था थियो, जसले राजालाई सर्वोच्च शक्ति प्रदान गरेको थियो । पञ्चायत व्यवस्थाविरुद्ध २०३५–३६ सालतिर विद्यार्थी आन्दोलन चर्कियो । सुरुमा शैक्षिक सुधारको मागबाट सुरु भएको यो आन्दोलनले छिट्टै पञ्चायतविरोधी राजनीतिक रूप लियो । बीपी कोइरालाको मेलमिलाप नीति र स्वदेश फिर्तीले जनमतलाई थप बलियो बनायो । विरोधको लहर बढ्दै गएपछि राजा वीरेन्द्रले २०३६ जेठ १० गते जनमत संग्रहको घोषणा गरे । जनतालाई दुई विकल्प दिइयो– हालको पञ्चायत व्यवस्था कायम राखी सामयिक सुधार गर्दै जाने वा बहुदलीय शासन व्यवस्था स्थापना गर्ने ।
२०३७ वैशाख २० गते जनमत संग्रह सम्पन्न भयो । सुधारिएको पञ्चायतको पक्षमा ५४.७९ प्रतिशत मत खसेको थियो भने बहुदलीयको पक्षमा ४५.२१ प्रतिशत । सुधारिएको पञ्चायतले जित हासिल ग¥यो । यसपछि नेपालको संविधान २०१९ मा तेस्रो संशोधन भयो । पञ्चायतलाई ‘सुधारिएको’ जामा लगाइयो । गाउँ तथा नगर पञ्चायतमा प्रत्यक्ष निर्वाचनको व्यवस्था गरियो, गोप्य मतदान लागू गरियो र केही हदसम्म खुकुलो संरचना बनाइयो । २०३९ मा स्थानीय निर्वाचन पनि भए ।
तर यो सुधार पूर्ण रूपमा सतही साबित भयो । पञ्च शासकहरूले सुधारलाई आफ्नो सत्तालाई थप मजबुत बनाउने ढालका रूपमा प्रयोग गरे । भ्रष्टाचार झन् बढ्यो, राजनीतिक दमन कायम रह्यो, जनताको आवाज दबाइयो । सुधारले जनताको असन्तुष्टिलाई शान्त पार्न सकेन बरु उल्टै बढायो । अन्ततः यो सुधारिएको व्यवस्था दश वर्षभन्दा बढी टिकेन । २०४६ सालको जनआन्दोलनले पञ्चायत पूर्ण रूपमा ढालिदियो र बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भयो । सुधारिएको पञ्चायत असफल हुनुको मुख्य कारण यो थियो कि यसले मूल समस्या– निरंकुशता, भ्रष्टाचार र जनताबाट टाढा रहने नेतृत्व । सुधार केवल नामको थियो, कार्यशैली र संस्कार उस्तै रह्यो । जनताले ठूलो आशा गरे पनि निराशा मात्र पाए ।
नेपाली कांग्रेस देशकै सबैभन्दा पुरानो राजनीतिक पार्टी हो । २००७ सालको क्रान्तिदेखि लोकतन्त्र स्थापनाका लागि लड्दै आएको यो पार्टीले पटकपटक सत्ता प्राप्त गरेको छ । तर सत्तामा पुगे पनि देशलाई ठोस विकास र स्थिर निकास दिन सकेन । कांग्रेसका नेताहरू पटकपटक भ्रष्टाचारमा मुछिएका छन् । ठूला घोटाला, परिवारवाद, गुटबन्दी र सत्ताको दुरुपयोगका घटनाहरू सार्वजनिक भएका छन् । जनताले कांग्रेसलाई अब पुरानो र असफल ठान्न थालेका छन् ।
अहिले विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा कांग्रेसले नयाँ सुरुवात गरेको दाबी गरिएको छ । पुराना केही प्रभावशाली नेताहरू किनारा लागेका छन् । गगन थापाले कांग्रेस सुधारिएको छ भन्दै जनतालाई आश्वासन दिएका छन् । उनी कांग्रेस बदलेको र अब देश बदल्ने बताउँछन् । सुशासन, युवा रोजगारी, भ्रष्टाचारविरुद्ध कठोरता जस्ता एजेन्डा अघि सारेका छन् । यो सकारात्मक सन्देश हो तर इतिहास दोहोरिने खतरा छ । यदि सुधार केवल नेतृत्व फेरबदल, केही पुराना अनुहार हटाउने र नयाँ नारामा सीमित रह्यो भने यो सुधारिएको पञ्चायत जस्तै बन्न सक्छ ।
कुनै पनि व्यवस्था वा पार्टी साँच्चै सुधारिने भनेको नेता र कार्यकर्ताहरूको कार्यशैली, संस्कार र व्यवहारमा गहिरो परिवर्तन आउनु हो । कांग्रेसमा यदि गुटबन्दी, परिवारवाद र भ्रष्टाचारको पुरानो संस्कार कायम रह्यो भने नयाँ नेतृत्वले पनि उही गल्ती दोहो¥याउन सक्छ । गगन थापा युवा, ऊर्जावान् र इमानदार छविका छन् तर पार्टीभित्र पुराना प्रभाव र संरचना अझै जीवित छन् । यदि उनले साँच्चै सुधार गरेनन् भने जनताले फेरि ठूलो निराशा मात्र पाउनेछन् ।
कांग्रेसले पटकपटक सत्ता प्राप्त गरे पनि विकास र सुशासन दिन सकेन । भ्रष्टाचार, राजनीतिक अस्थिरता र गरिबी कायम रह्यो । अब सुधारिएको कांग्रेसबाट फेरि त्यही पुरानो अवस्था दोहोरिनु हुँदैन । यसका लागि कार्यशैलीमा गहिरो परिवर्तन आवश्यक छ । भ्रष्टाचारमा शून्य सहनशीलता केवल नारा नभई व्यावहारिक रूपमा लागू गर्नुपर्छ । जनतासँग प्रत्यक्ष जोडिनुपर्छ, ठूला नारा होइन कामबाट विश्वास कमाउनुपर्छ । युवा र नयाँ पुस्तालाई वास्तविक स्थान दिनुपर्छ, पुराना संस्कारलाई त्याग्नुपर्छ । सत्तामा पुगेपछि पहिलो दिनदेखि नै सुशासनको प्रमाण देखाउनुपर्छ ।
यदि कांग्रेसले इतिहासबाट सिकेन भने सुधारिएको पञ्चायत जस्तै ढलेर जान सक्छ । जनताले अब नारा र आश्वासन होइन, ठोस परिणाम खोजेका छन् । गगन थापाको नेतृत्वमा यो ठूलो अवसर छ– साँच्चै सुधार गरेर देश बदल्ने । अन्यथा इतिहास फेरि दोहोरिनेछ । कांग्रेसले यो चुनौतीलाई अवसर बनाओस् र असफलताको अर्को अध्याय नबनोस् । जनताको आशालाई साकार बनाउने जिम्मेवारी अब यस नयाँ नेतृत्वको काँधमा छ । जनधारणा साप्ताहिक


