काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सामान्य चोटबाट उत्पन्न नसोचेको संक्रमणका कारण जीवनमै पहिलो पटक अस्पतालमा केही दिन उपचारपछि आजदेखि पुनः सार्वजनिक जीवनमा फर्किएका छन्। विश्रामपछि सार्वजनिक सन्देश जारी गर्दै उनले अबको राजनीतिक यात्रालाई ऐलान, संकल्प र प्रतिबद्धतासहित अघि बढाउने जनाएका छन्।
लामिछानेले देशमा अब हुने परिवर्तनलाई ‘घटना होइन, इतिहास’ को संज्ञा दिँदै उक्त इतिहास नेपाली जनताले आफ्नै हातले, आफ्नै मतपत्रमार्फत लेख्ने दाबी गरेका छन्। उनले आफू सिंहदरबार पुग्ने लक्ष्यमा नभई “सिंहदरबार बदल्ने” अभियानमा रहेको स्पष्ट पारेका छन्।
“अपदस्त दुईतिहाइको सरकारले जबरजस्ती मेरो शरीरमा हालिदिएको विष निकाल्दै देशभरका अदालत धाउनुपर्यो,” उनले उल्लेख गरेका छन्। यद्यपि आफू देशका कति ठाउँमा पुग्न सक्ने निश्चित नभए पनि बढीभन्दा बढी जनसमुदायसँग प्रत्यक्ष संवाद गर्ने प्रयास रहने उनले बताए।
एकाध पुल, भवन वा सडकका तस्वीर देखाएर गरिने ‘कस्मेटिक सुधार’ मा आफ्नो कुनै रुचि नरहेको भन्दै उनले कुशासनको मुख्यालय बनेको सिंहदरबारबाटै ‘निलो क्रान्ति’ सुरु गर्न स्पष्ट जनम्यान्डेट आवश्यक रहेको बताएका छन्। वर्षौंअघि रोपिएको अस्थिरताको जरो नउखेलिएसम्म देशमा कुनै पनि वास्तविक परिवर्तन सम्भव नहुने उनको भनाइ छ।
लामिछानेले आफ्नो व्यक्तिगत भविष्य वा इतिहासमा नाम रहने–नरहने विषयमा आफूलाई चासो नरहेको स्पष्ट गर्दै देशका सन्ततिको भविष्य मेट्न खोज्ने शक्तिविरुद्ध क्रान्तिको घण्टी बजिसकेको दाबी गरेका छन्। “अब अन्तिम पर्दा उठ्न बाँकी छ, त्यो पर्दा हामी मिलेर उठाउनेछौँ,” उनले भनेका छन्।
रास्वपामाथि लाग्दै आएका लोकप्रियतावाद, भिजन र नीति–सिद्धान्तको अभावजस्ता आरोपप्रति प्रतिक्रिया दिँदै उनले पार्टीका दस्तावेजहरू स्पष्ट रूपमा सार्वजनिक रहेको उल्लेख गरेका छन्। विश्लेषकहरूले ती दस्तावेज नपढ्नुको जिम्मेवारी पार्टीले बोकिरहन नसक्ने उनको भनाइ छ।
“भारी शब्द प्रयोग गरेर राजनीतिलाई जटिल बनाउन जरुरी छैन,” उनले भनेका छन्, “प्राप्त उपलब्धिसहितको लोकतन्त्र जोगाउन हामी प्रतिबद्ध छौँ, नसके जनता स्वयं छन्।”
लामिछानेले देश कुनै अमुक नेताले होइन, जनताले जोगाएको उल्लेख गर्दै जनताको ताकतकै बलमा मतपत्रमार्फत सुशासन, विकास, कूटनीति र अर्थ–राजनीतिको नयाँ युग सुरु गर्न चाहेको बताएका छन्।
देशलाई “गिद्धले सिनो लुछेजस्तै लुछिएको” अवस्थामा रहेको टिप्पणी गर्दै उनले सबै प्रकारका खुला वा गोप्य गठबन्धन गर्न चुनौती दिएका छन्। तर जनविद्रोहले अस्वीकृत गरेको पुरानो संसदलाई षड्यन्त्रपूर्ण ढंगले पुनःस्थापना गर्ने कुनै पनि प्रयास, दबाब वा धम्की स्वीकार्य नहुने चेतावनी दिएका छन्।
उनका अनुसार फागुन २१ नेपाली इतिहासको महत्वपूर्ण माइलस्टोन हुनेछ। फागुन २१ पछि बन्ने संसदमा प्रतिपक्षीसहित सबै शक्ति नयाँ हुनुपर्ने उनको भनाइ छ। “सर्प एउटा पनि पाल्न सकिँदैन,” उनले कडा टिप्पणी गरेका छन्।
वर्षौंसम्म देश लुटेर बनेका आपराधिक गिरोहबाट अब देशलाई स्थायी रूपमा मुक्त गरिने दाबी गर्दै लामिछानेले केही बिचौलियाको नियन्त्रणमा रहेको देशको भविष्य लेख्ने जिम्मा जनताकै हातमा सुम्पिएको बताएका छन्।


