काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा सोमबार भारतको ७७ औं गणतन्त्र दिवस मनाइएको छ ।
नेपालमा रहेका भारतीय समुदायको सहभागितामा भएको कार्यक्रममा कार्यवाहक राजदूत राकेश पाण्डेले झण्डोत्तोलन गरेका थिए । ७७ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
विगत एक वर्षमा भारत–नेपाल सम्बन्धमा भएको महत्त्वपूर्ण प्रगति समेटिएको भिडियो पनि प्रस्तुत गरिएको थियो । कार्यवाहक राजदूत पाण्डेले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारलाई सम्मान गर्नुका साथै सात करोड २० लाख रुपैयाँ बराबरको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फन्ड) चेकहरू हस्तान्तरण गरेका थिए ।
दूतावासमा रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी तथा शिक्षकका साथै नेपाली कलाकारले कार्यक्रममा नृत्य र सांगीतिक प्रस्तुति दिएका थिए । १५ अगस्ट १९४७ मा स्वतन्त्र भएको भारतमा २६ जनवरी १९५० मा संविधान लागू गर्दै लोकतान्त्रिक, सम्प्रभु र गणतन्त्र राष्ट्र घोषणा गरिएको थियो । त्यसैले हरेक वर्ष २६ जनवरीमा गणतन्त्र दिवस मनाउने गरिन्छ ।


