काठमाडौं । हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी परित्याग गरेकी विद्या श्रेष्ठ अब श्रम, संस्कृति पार्टीबाट चुनावी राजनीतिमा सक्रिय हुने भएकी छिन्।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–१ बाट उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
उनी हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीकी उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिन लागेकी हुन्। हेटौँडा बजारमा गरिएको सडक विस्तार तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको निर्देशनमा भएको भन्दै त्यसको विरोधमा आफू उनेपाबाट बाहिरिएको श्रेष्ठको धारणा छ।
जनताको घरमा डोजर चलाएर आतंक सिर्जना गर्ने प्रवृत्तिसँग सहकार्य गर्न नसक्ने निष्कर्षसहित पार्टी परित्याग गरेको उनले जानकारी गराइन् । सडक विस्तार रोक्न पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गरेको आरोप लगाउँदै उनले अन्ततः उनेपा छाडेकी थिइन्। त्यसपछि उनी श्रम, संस्कृति पार्टीबाट उम्मेदवार बनेकी हुन्।
काठमाडौंका स्थानीय बासिन्दा श्रेष्ठ विगत लामो समयदेखि उपत्यकाकाे बालाजु बाइपास सडक विस्तार, हेटौँडा सडक विस्तारको विरोधमा सक्रिय रहँदै आएकी छिन्। अब उनले राष्ट्र निर्माण गर्नका लागि ‘माटो’ चुनाव चिन्हमा मतदान गर्न मतदातासमक्ष आग्रहसमेत गरेकी छिन्।


