काठमाडौं । पत्रकार आचारसंहिता कार्यान्वयनबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकारहरूसँग छलफल गरिएको छ ।
प्रेस काउन्सिल नेपालले सोमबार पत्रकार आचारसंहिता कार्यान्वयनका सन्दर्भमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा कार्यरत पत्रकारहरूसँग छलफल गरेको हो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यको प्रमुख आतिथ्यता र काउन्सिलको अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिका संयोजक कुमारी निमा काफ्लेको सभापतित्वमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक तथा प्रेस काउन्सिल नेपालका सदस्य-सचिव छविन्द्र पराजुली, प्रेस काउन्सिलका सदस्य भीमलाल श्रेष्ठ र मुख्य अधिकृत झविन्द्र भुसालले प्रेस काउन्सिल नेपालले गरिरहेको अनुगमन, आचारसंहिता पालनाको अवस्था र सूचना तथा प्रसारण विभाग बीचको सम्बन्धबारे जानकारी गराएका थिए ।


